सवारी दुर्घटना रोकथामका लागि जनजागरण कार्यक्रम

वीरगंज / सवारी दुर्घटना रोकथाम तथा न्यूनीकरण गर्ने उद्देश्यले वीरगंज महानगरको रामगढवा एकता युवा क्लब र जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साको संयुक्त आयोजनामा जनजागरण कार्यक्रम सम्पन्न भएको छ ।

रामगढवा एकता युवा क्लबका कोषाध्यक्ष शिवराज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा ट्राफिक प्रहरी निरीक्षक युवराज कटवाललगायत ट्राफिक प्रहरीहरूको सहभागिता थियो ।

कार्यक्रममा सवारी दुर्घटनाको जोखिम न्यूनीकरण गर्न आइसिपीस्थित सडक खण्डमा दुर्घटना सचेतनासम्बन्धी सूचना बोर्ड जडान गरिएको छ ।

बोर्डले सवारीचालक तथा सर्वसाधारणलाई ट्राफिक नियम पालन गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ ।

ट्राफिक प्रहरी निरीक्षक कटवालले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको कडाइका साथ पालना गर्दै हेलमेट र सिटबेल्टको प्रयोग, गति नियन्त्रण तथा सचेतना कार्यक्रम अत्यन्त आवश्यक रहेको बताए ।

उनले समुदायस्तरबाट यस्ता पहलहरू बढेमा दुर्घटना नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने उल्लेख गरे ।

कार्यक्रममा रामगढवा एकता युवा क्लबका श्रवण पटेल, अनु पटेल, नितेश पटेल, अरविन्द पटेल, धीरज पटेललगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्