वीरगञ्ज वडा नं. १० मा शीतलहरमा राहत

वडाध्यक्षको नेतृत्वमा दुई दर्जनभन्दा बढी स्थानमा आगो ताप्ने व्यवस्था

वीरगंज । वीरगञ्जमा पछिल्लो केही दिनयता बढेको चिसो र शीतलहरका दैनिक मजदुरी गर्ने श्रमिक, रिक्सा चालक, सुरक्षाकर्मी तथा सर्वसाधारणको जनजीवन अत्यन्त कष्टकर बनेको छ ।
यही अवस्थालाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सुशील कुमार कानुले वडावासीलाई राहत दिने मानवीय पहल सुरु गरेका छन् । वडाध्यक्ष कानुको नेतृत्वमा आइतबारदेखि वडाभित्रका दुई दर्जनभन्दा बढी स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ ।
वडाध्यक्ष कानुले विशेषगरी बाहिर बसेर काम गर्नुपर्ने मजदुर, रिक्सा चालक, सुरक्षाकर्मी र सर्वसाधारणलाई लक्षित गरी यो व्यवस्था गरिएको बताएका छन् । आगो ताप्ने व्यवस्था ठाकुरराम क्याम्पस अगाडि, सत्या हल अगाडि, घडिअर्वा चोक, बाबा मठिया चोक, बनारसी चोक, वर्णवाल चोक, अशोक वाटिका चोक, रानीघाट चोक, घडिअर्वा गाउ“ इनार अगाडि, प्रहरी चौकी अगाडि, कुमारी माई मन्दिर अगाडि, कर कार्यालय अगाडि, होली ल्यान्ड स्कुल अगाडि लगायत वडाका विभिन्न दुई दर्जनभन्दा बढी स्थानमा गरिएको छ ।
“चिसोका कारण वडावासीहरू निकै पीडित छन् । उनीहरूको दैनिक जीवन सहज बनाउन र स्वास्थ्य सुरक्षाका लागि हामीले आगो ताप्ने व्यवस्था मिलाएका हौं ।” वडाध्यक्ष कानुले भने । अघिल्ला वर्षहरूमा पनि उनले यस्तै मानवीय कार्य गर्दै आएका थिए ।
वडाध्यक्ष सुशील कुमार कानु जस्ता जनप्रतिनिधिहरूले जनताको सुख–दुःखमा प्रत्यक्ष साथ दिने यस्ता कार्य प्रशंसनीय रहेको छ । यस्ता मानवीय पहलहरूले स्थानीय सरकारप्रति जनताको विश्वास अझ मजबुत बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास स्थानीयहरूले व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्