वीरगञ्ज र जनकपुरधाममा दीपुचन्द्र दास हत्याविरुद्ध प्रदर्शन

वीरगञ्ज । बङ्गलादेशमा निर्मम रूपमा हत्या गरिएका हिन्दू अल्पसङ्ख्यक दीपुचन्द्र दासको हत्याविरुद्ध जमिअत उलेमा ए नेपाल बारा र पर्सा जिल्ला समितिले शनिबार वीरगञ्जमा विरोध प्रदर्शन गरेको छ।

जमिअत उलेमा ए नेपालका उपाध्यक्ष मौलाना अलि असगर मदानीको नेतृत्वमा निकालिएको र्‍यालीमा मुस्लिम समुदायका अगुवाहरू सहभागी थिए। प्रदर्शनका क्रममा “दीपुचन्द्र दासका हत्यारालाई फाँसी दे”, “बङ्गलादेश सरकार मुर्दाबाद”, “हिन्दूको हत्या बन्द गर”, “मोहम्मद युनुस मुर्दाबाद” तथा “हिन्दू–मुस्लिम एकता जिन्दाबाद” जस्ता नारा लगाइएको थियो।

यसैबीच, दासको आत्माको शान्ति र न्यायको माग गर्दै जनमत पार्टी निकट युवाहरूले वीरगञ्जको घण्टाघरमा श्रद्धाञ्जलिसभा आयोजना गरेका छन्। युवा दस्ताका जिल्ला अध्यक्ष मनोज साहको नेतृत्वमा सम्पन्न कार्यक्रममा पाँच मिनेट मौन धारण गर्दै हत्यारामाथि कडा कारबाहीको माग गरिएको थियो। सहभागीहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दूहरूको सुरक्षा र सम्मानसहित बाँच्न पाउने अधिकार सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

यस्तै, मधेस प्रदेशको जनकपुरधाममा पनि दीपुचन्द्र दासको निर्मम हत्याविरुद्ध विरोध प्रदर्शन गरिएको छ। महिला अभियानी जनकपुरधामको ब्यानरमा नेत्री विभा ठाकुरको नेतृत्वमा शुक्रबार आयोजित प्रदर्शनमा “बङ्गलादेश सरकार मुर्दाबाद”, “हिन्दू हत्या बन्द गर”, “दीपुचन्द्र दासका हत्यारालाई फाँसी दे”, “जमाते इस्लाम मुर्दाबाद” र “रोहिंग्या मुसलमान घुसपैठ बन्द गर” लेखिएका ब्यानर बोकेर प्रदर्शन गरिएको थियो।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीलाई कडा सजाय र बङ्गलादेशमा अल्पसङ्ख्यक समुदायको सुरक्षाको सुनिश्चितताको माग गरेका छन्।

प्रतिक्रिया दिनुहोस्