तराई–मधेशमा चिसो बढेसँगै हाइपोथर्मिया र जलनका बिरामी बढे

चिसो अत्याधिक बढेपछि पराल बालेर आगो ताप्दै बालबालिकाहरु । तस्वीरः हमार वीरगंज

वीरगञ्ज — केही दिनदेखि तराई–मधेश क्षेत्रमा अत्यधिक चिसो बढेपछि हाइपोथर्मिया, जलन र श्वासप्रश्वाससम्बन्धी समस्याका बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रादेशिक अस्पताल जनकपुरधाममा यस्ता बिरामी दैनिक ठूलो संख्यामा उपचारका लागि पुगिरहेका छन्।

अस्पतालका निर्देशक डा. जामुन सिंहका अनुसार दैनिक औसत चारदेखि पाँच सयसम्म बिरामी आउने गरेका छन्, जसमध्ये ठूलो हिस्सा चिसोबाट प्रभावित छन्। हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डायरिया, दम एट्याक र हर्ट एट्याकका बिरामी बढी देखिएका छन्।

डा. सिंहका अनुसार उपचारका लागि आउने अधिकांश बिरामी गरिब, मजदुर, वृद्ध–वृद्धा, बालबालिका तथा खुला स्थानमा बसोबास गर्ने ग्रामीण क्षेत्रका नागरिक हुन्। “अत्यधिक चिसोका कारण शरीरको तापक्रम घट्दा हाइपोथर्मिया हुन्छ भने चिसो छल्न आगो ताप्ने क्रममा जलनका घटना बढेका छन्,” उनले बताए।

हाइपोथर्मिया शरीरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा तल झर्नु हो। लामो समयसम्म अत्यधिक चिसो वातावरणमा रहँदा शरीरले आफूलाई न्यानो राख्न नसक्दा यस्तो समस्या देखिने चिकित्सकहरूको भनाइ छ। मधेश क्षेत्रमा घरभित्र दाउरा, कोइला वा गोइँठा बालेर झ्याल–ढोका बन्द गर्दा धुवाँ ननिस्कँदा कार्बन मोनोअक्साइडको जोखिम बढ्ने डा. सिंहले चेतावनी दिए। यसले सास फेर्न समस्या, बेहोसी र हर्ट एट्याकसम्म गराउन सक्छ।

कुहिरो, चिसो हावा, पर्याप्त न्यानो लुगा नलगाउनु, भिजेको कपडा लगाएर बस्नु, राति खुला स्थानमा सुत्नु र पोषणको कमी हाइपोथर्मियाका प्रमुख कारण हुन्। नवजात शिशु, साना बालबालिका, वृद्ध–वृद्धा, गरिब, दैनिक ज्यालादारी मजदुर, सडकमा बसोबास गर्ने व्यक्ति, दीर्घरोगी, कुपोषित र गर्भवती महिला बढी जोखिममा रहेका छन्।

अस्पतालमा आउने हाइपोथर्मियाका बिरामीमा अत्यधिक जाडो लाग्ने, सास फेर्न गाह्रो हुने, शरीर काप्ने वा अकडिने, बोली अस्पष्ट हुने, बेहोस हुने तथा छाला चिसो र नीलो देखिने लक्षण देखिएका छन्।

चिकित्सकहरूले घरभित्र झ्याल–ढोका बन्द गरेर आगो नबाल्न, न्यानो कपडा लगाउन, बिहान र राति अत्यावश्यक बाहेक बाहिर ननिस्कन, आगो ताप्दा सावधानी अपनाउन र नवजात शिशुलाई शरीरसँग टाँसेर न्यानो राख्न सुझाव दिएका छन्। साथै दाल, गेडागुडी, झोलिलो खानेकुरा, अण्डा, केरा, तिलको लड्डु र जाउलो जस्ता पोषिलो खाना खान आग्रह गरिएको छ।

अत्यधिक चिसोका कारण शरीर अकडिने, सास फेर्न गाह्रो हुने वा बेहोसी जस्ता लक्षण देखिएमा ढिलाइ नगरी नजिकको स्वास्थ्य संस्थामा जान चिकित्सकहरूले आग्रह गरेका छन्। मौसमविद्हरूले चिसो अझै केही दिन रहने अनुमान गरेकाले विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनुहोस्