साहस, इमान्दारी र व्यावसायिकताको उदाहरण बन्दै प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शम्शेर जबरा

जनकपुरधाम । नेपाल प्रहरीमा कर्तव्यनिष्ठा, साहस र उच्च व्यावसायिक कार्यशैलीका कारण प्रहरी वरिष्ठ नायब निरीक्षक (SSI) सागर शम्शेर जबरा एक सफल र प्रेरणादायी प्रहरीका रूपमा स्थापित हुँदै जानुभएको छ। विभिन्न जिल्लामा कार्यरत रहँदा जघन्य अपराध नियन्त्रण, जटिल मुद्दाको सफल अनुसन्धान तथा जोखिमपूर्ण उद्धार कार्यमा देखाउनुभएको दक्षताका कारण उहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका दर्जनौँ सम्मानबाट सम्मानित हुनुभएको छ।

आफ्नो ज्यानको समेत पर्वाह नगरी नागरिकको सुरक्षामा समर्पित जबरालाई २०७७ सालमा योगेन्द्र स्मृति साहसिक पुरस्कार प्रदान गरिएको थियो। रौतहट, बारा, पर्सा र चितवन जिल्लामा भएका हत्या, डकैती, अपहरण र विस्फोटनजस्ता गम्भीर अपराध नियन्त्रणमा देखाएको असाधारण साहस र नेतृत्वका कारण उहाँ यो प्रतिष्ठित सम्मानबाट विभूषित हुनुभएको हो।
त्यसैगरी, जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत रहँदा वर्षभरि गरेको उत्कृष्ट कार्यसम्पादनको कदरस्वरूप २०७९ सालमा उहाँलाई ‘बेस्ट पुलिस अफ द इयर’ घोषणा गरिएको थियो।

अन्तर्राष्ट्रिय स्तरमा समेत प्रशंसा
जबराको व्यावसायिक दक्षता नेपालभित्र मात्र सीमित छैन। भारतको हरियाणास्थित फरिदाबाद प्रहरीले एक जघन्य अपराधमा संलग्न अभियुक्त पक्राउ गर्न पुर्‍याएको विशेष सहयोगको कदर गर्दै उहाँलाई प्रशंसा पत्र प्रदान गरेको छ। यसले उहाँको अनुसन्धान क्षमता अन्तर्राष्ट्रिय स्तरमा समेत प्रभावकारी रहेको पुष्टि गर्दछ।

जटिल मुद्दा सुल्झाउँदै ‘पुलिस अफ द मन्थ’ आफ्नो सेवाकालमा जबराले थुप्रै जटिल र चुनौतीपूर्ण मुद्दाहरूलाई सफलतापूर्वक निष्कर्षमा पुर्‍याउनुभएको छ। बारामा पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न फरार अभियुक्तलाई १२ वर्षपछि पक्राउ गर्नु उहाँको उल्लेखनीय उपलब्धिमध्ये एक हो।

धनुषामा वडा अध्यक्ष बिन्देश्वर यादवको हत्यामा संलग्न समूहलाई कानुनी दायरामा ल्याउन पनि उहाँको प्रमुख भूमिका रहेको थियो।
यसैगरी, होटलमा बन्धक बनाइएकी १३ वर्षीया बालिकाको सकुशल उद्धार, जबरजस्ती करणी तथा अन्य गम्भीर अपराधमा संलग्न फरार अभियुक्तहरूको पक्राउ कार्यले उहाँलाई पटक–पटक ‘पुलिस अफ द मन्थ’ बनाएको छ।

उहाँले २०७६ कार्तिक र फाल्गुन (बारा), २०७८ भदौ तथा २०८२ असार, मंसीर (धनुषा) लगायत थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान प्राप्त गरिसक्नुभएको छ।

संगठनको छवि उच्च बनाएको भन्दै
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक तथा बाराका तत्कालीन प्रहरी प्रमुखहरूले जबराको कार्यशैली, इमानदारी र व्यावसायिकताको खुलेर प्रशंसा गर्ने गरेका छन्। उहाँको निष्पक्ष र जिम्मेवार कार्यप्रणालीले आम नागरिकमा प्रहरीप्रतिको विश्वास र भरोसा थप मजबुत भएको उनीहरूको भनाइ रहेको छ।

नागरिकको जीवन र सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै निरन्तर जोखिमपूर्ण जिम्मेवारी वहन गरिरहेका प्रहरी वरिष्ठ नायब निरीक्षक सागर शम्शेर जबरा आज नेपाल प्रहरीभित्र साहस, अनुशासन र व्यावसायिकताको प्रतीकका रूपमा परिचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्