वीरगंजमा पत्रकारहरूलाई लक्षित गरी एआईको प्रयोगसम्बन्धी तालिम सम्पन्न

वीरगंज । आमसञ्चार प्राधिकरण जनकपुरको आयोजना र नेपाल पत्रकार महासङ्घ पर्साको समन्वयमा सोमवार पर्सेली पत्रकारहरूलाई लक्षित गरी एआई (कृत्रिम बुद्धिमत्ता) को प्रयोगसम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ।

तालिमको उद्घाटन गर्दै मधेस प्रदेशका पूर्वमुख्यमन्त्री लालबाबू राउत गद्दीले पत्रकारहरूलाई एआईको प्रयोगलाई सही र समझदारीपूर्वक प्रयोग गर्न सुझाव दिए। उनले प्रविधिको सकारात्मक सदुपयोग गरेर पत्रकारिताको गरिमा कायम राख्न पत्रकारहरूलाई आग्रह गरे। उनले पछिल्लो समय एआईको दुरुपयोग बढिरहेकोमा चिन्ता व्यक्त गर्दै पत्रकारहरूलाई प्रविधिका बारेमा सचेत रहन र यसको सही प्रयोग गर्न प्रेरित गरे।

तालिमका प्रशिक्षक प्रकाश मैनाली र सुरेश बिडारीले डिजिटल दुनियाँमा बढ्दै गएको साइबर जोखिम र त्यसबाट बच्नका उपायहरूको बारेमा जानकारी दिए। प्रशिक्षकद्वयले साइबर हमला, साइबर सुरक्षा, साइबर अपराध, डेटा चोरी, साइट ह्याङ, एकाउन्ट ह्याङ र आर्थिक हानि जस्ता समस्याबारे पत्रकारहरूलाई सचेत गराए। साथै, उनीहरूले पत्रकारहरूलाई मजबूत पासवर्ड राख्न र सरकारी प्रणालीको सुरक्षामा ध्यान दिनुपर्ने कुरामा जोड दिए।

प्रशिक्षकहरूले सामाजिक सञ्जालको सही प्रयोग र प्रविधि सञ्चालन गर्दा सचेत रहन पत्रकारहरूलाई सल्लाह दिएका थिए।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल पत्रकार महासङ्घका सचिव अशोक तिवारी, पूर्वसचिव दीपेन्द्र चौहान, प्रदेश सचिव दीपक गौतम, शाखा अध्यक्ष ओमप्रकाश खनाल, आमसञ्चार प्राधिकरणका अध्यक्ष जीतेन्द्र खड्का र अधिकृत रञ्जीता साहलगायतले मन्तव्य व्यक्त गरेका थिए।

यस तालिमको मुख्य उद्देश्य पत्रकारहरूलाई एआई र डिजिटल जोखिमका बारेमा जानकारी दिन र यसको सही प्रयोगमा मार्गदर्शन गर्नु थियो।

प्रतिक्रिया दिनुहोस्