बरिष्ठ नायव निरीक्षक सागर शम्सेर जबरा पुनः ‘पुलिस अफ द मन्थ’

धनुषा । जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी बरिष्ठ नायव निरीक्षक (प्र.ब.ना.नि.) सागर शम्सेर ज.ब.रा. लाई मंसिर २०८२ को “उत्कृष्ट प्रहरी (Police of the Month)” घोषणा गरेको छ।

अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा दरबन्दी भई प्रहरी चौकी जनकपुरधाममा कार्यरत प्र.ब.ना.नि. जबराले गम्भीर अपराध अनुसन्धान र अभियुक्त पक्राउमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

जिल्ला प्रहरीका अनुसार, मिति २०८२/०७/२८ गते मिथिला बिहारी नगरपालिका–९ अन्दुपट्टीमा वडा अध्यक्ष बिन्देश्वर यादवमाथि गोली प्रहार गरी हत्या गर्ने घटनामा संलग्न १२ जनामध्ये चार जनालाई पक्राउ गर्न प्र.ब.ना.नि. जबराले महत्वपूर्ण भूमिका खेलेका थिए। साथै, जनकपुरधाम उपमहानगरपालिका–११ मा घटेको जबर्जस्ती करणीसम्बन्धी घटनाका अभियुक्तहरूलाई विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएका छन्।

त्यसैगरी, जनकपुरधाम–१० स्थित एक होटलमा घटेको नाबालिकासम्बन्धी गम्भीर अपराधमा संलग्न फरार प्रतिवादीहरूलाई पनि उनले सक्रिय अनुसन्धानमार्फत पक्राउ गर्न सहयोग गरेका थिए। मंसिर महिनामा आयोजित राम–सीता विवाह पञ्चमी मेलामा कुनै अप्रिय घटना हुन नदिई शान्ति–सुरक्षा कायम राख्नमा समेत उनको योगदान महत्वपूर्ण रहेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाले प्र.ब.ना.नि. जबराले उच्च व्यवसायिकता, इमान्दारिता र कुशलताका साथ जिम्मेवारी निर्वाह गरी प्रहरी संगठनको छवि उकास्न योगदान पुर्‍याएको भन्दै उनलाई Police of the Month घोषणा गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुगम बहादुर कुँवरले भने, “उत्कृष्ट कार्यले आम नागरिकमा प्रहरीप्रतिको विश्वास र सकारात्मक सोच अभिवृद्धि भएको छ।”

सागर विगतमा पनि कैयौं पटक आफ्नो कार्यकुशलताका कारण “उत्कृष्ट प्रहरी” घोषित भईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्