चौरसिया, आमात्यसंगै युवा नेता यादव सिफारिस, पर्सा–२ मा परिवर्तनको सम्भावना

वीरगंज । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले तीन जनाको नाम प्रत्यक्ष तर्फ सिफारिस गरेको छ। क्षेत्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले पूर्वमन्त्री तथा तीन पटकका सांसद अजयकुमार चौरसिया, पूर्व सांसद राजेन्द्र बहादुर अमात्य र युवा नेता राकेश यादवलाई उम्मेदवारका रूपमा जिल्ला कार्यसमितिमा पठाउने निर्णय गरेको क्षेत्रीय सभापति महमद साहबुद्धिनले जानकारी दिए।

सिफारिस सूचीमा समावेश युवा नेता राकेश यादव (४३) पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी बैरैयाका स्थायी बासिन्दा हुन्। कक्षा ९ देखि नेविसंघमार्फत सक्रिय राजनीतिमा प्रवेश गरेका यादव ठाकुरराम बहुमुखी क्याम्पस स्ववियु सचिव, क्याम्पस इकाइ समिति सचिव, जिल्ला सचिव हुँदै नेविसंघ पर्सा जिल्ला सभापति बनिसकेका छन्। पार्टीभित्र उनलाई युवाबीच लोकप्रिय र सक्रिय नेताका रूपमा हेरिन्छ।

यस्तै, प्रतिनिधि सभा समानुपातिक तर्फ पर्सा क्षेत्र नम्बर २ बाट गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ र जुनमाया बल को नाम सिफारिस गरिएको छ।

साथै, राष्ट्रिय सभा सदस्य निर्वाचन लक्षित गरी हिरा साह कानु, सुखल हजरा, प्रेमचन्द्र दुबे र कन्हैयालाल बानिया को नाम पनि सिफारिसमा परेका छन्।

जिल्ला कार्यसमितिमा पुगेका यी नाममध्ये अन्तिम निर्णय आगामी समिति वैठक र पार्टी केन्द्रको निर्णयपछि हुने बताइएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ को कांग्रेस राजनीतिमा चासो बढेको छ।

प्रतिक्रिया दिनुहोस्