सिमरामा झडपपछि कर्फ्यु: आजका सबै उडान रद्द, एमाले नेताहरू बोकेको विमान धावनमार्गमै रोकियो

वीरगंज । बाराको सिमरा विमानस्थल क्षेत्रमा जेन–जी युवाहरू र नेकपा (एमाले) कार्यकर्ताबीच भएको झडपपछि उत्पन्न तनावले आज सिमरा गन्तव्यका सबै उडान प्रभावित भएका छन्। स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेसँगै सिमराका लागि निर्धारण गरिएका सम्पूर्ण उडान रद्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार कर्फ्युको कारण उडान सुरक्षामा जोखिम देखिएकाले उडानस्थगन गर्ने निर्णय लिइयो। सामान्य अवस्थामा बुद्ध एयरले सिमरा मार्गमा दैनिक पाँच उडान सञ्चालन गर्दै आएको भए पनि आज बिहान केवल एक उडान मात्रै पूरा गर्न सकिएको थियो।

दोस्रो उडानमा एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतलगायतका नेता सिमरा जाने तयारीमा थिए। तर सिमरामा स्थिति अचानक बिग्रिएपछि उनीहरू चढेको विमान धावनमार्गतर्फ उडानपूर्व तयारीमा रहेकै अवस्थामा रोकिएको र पछि फर्काइएको अधिकारीहरूले बताएका छन्।

सिमरास्थित चोक क्षेत्रमा झडप बढ्दै गएपछि प्रशासनले विमानस्थल आसपास ५०० मिटर क्षेत्रसहित मुख्य सडक क्षेत्रमा कडा कर्फ्यु जारी गरेको थियो। कर्फ्यु जारी भएसँगै विमानस्थलमा आवत–जावत पूर्ण रुपमा रोकिएपछि बाँकी सबै उडान आजका लागि रद्द गरिएका छन्।

प्रशासनले परिस्थितिको मूल्यांकन गर्दै आवश्यकतानुसार सुरक्षात्मक कदम थप कडा बनाइने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्