सिमरा क्षेत्रमा कर्फ्यु, विमानस्थल वरिपरि कडा सुरक्षा

वीरगंज ।  बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा बिहानदेखि जारी तनावपछि जिल्ला प्रशासन कार्यालय बाराले सो क्षेत्रलाई आज दिउँसोदेखि कर्फ्यु क्षेत्रमा घोषणा गरेको छ। सिमरा विमानस्थल नजिक जेनजी युवाहरू र विभिन्न दलसँग आवद्ध समूहबीच झडप बढेपछि सुरक्षा जोखिम नियन्त्रणमा लिन कर्फ्यु आवश्यक देखिएको प्रशासनले जनाएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी गरिएको कर्फ्यु आदेश आज २०७९ मंसिर ३ गते (२०८२।०८।०३) दिउँसो १२:३० बजेदेखि बेलुका ८:०० बजेसम्म लागू हुनेछ। आदेशअनुसार कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवत–जावत, जुलुस, सभा, समूहगत गतिविधि तथा भीड जम्मा गर्नु पूर्णरूपले निषेध गरिएको छ।

गण्डक नहरदेखि पथलैया सडकखण्ड (राजमार्गको दायाँ–बायाँ ५०० मिटर), सिमरा विमानस्थल आसपास ५०० मिटर क्षेत्रमा कफ्र्यू लागू गरिएको छ l
प्रशासनका अनुसार सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति हुन नदिन र स्थलमा कार्यरत सुरक्षाकर्मी तथा कर्मचारीको सुरक्षा सुनिश्चित गर्न कडा कदम चालिएको हो। कफ्र्यू अवधिभर सुरक्षाकर्मीलाई उच्च सतर्कताका साथ परिचालन गरिएको छ र परिस्थितिको नियमित मूल्यांकन भइरहेको जनाइएको छ।

स्थानीय प्रशासनले अत्यावश्यक सेवामा भने बाधा नपर्ने गरी परिचयपत्रका आधारमा मात्रै आवत–जावत हुन सक्ने स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस्