सिमरा चोकमा जेनजी र एमाले कार्यकर्ताबीच झडप

वीरगंज। बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा चोक आज बिहान केही समय तनावपूर्ण बनेको छ। जेनजी युवा समूह र नेकपा (एमाले) कार्यकर्ताबीच धक्कामुक्की हुँदै झडप भएपछि सुरक्षाकर्मीलाई ठूलो संख्यामा खटिनुपरेको स्थानीय प्रशासनले जनाएको छ।

प्रहरीका अनुसार बिहान करिब १०:३० बजे एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुद्ध एयरमार्फत सिमरा आइपुग्ने जानकारी सार्वजनिक भएपछि जेनजी समूहले चोक क्षेत्रमा विरोध प्रदर्शन शुरु गरेको थियो। प्रदर्शनकै क्रममा उनीहरू र एमाले समर्थकहरू आमनेसामने परेपछि वातावरण तात्दै गएको र केही मिनेटमै झडपमा परिवर्तित भएको प्रहरीले बताएको छ।

स्थानीयहरूले जनाएअनुसार, तनाव बढ्दा जेनजी समूहका प्रदर्शनकारीले एमाले कार्यकर्ताले तयार गरेको स्वागत गेट भत्काइदिएका थिए। घटनापछि सिमरा विमानस्थल क्षेत्रदेखि मुख्य बजार क्षेत्रसम्म सुरक्षाकर्मीको उपस्थिति उल्लेखनीय रूपमा बढाइएको छ।

प्रहरीले अहिले स्थिति नियन्त्रणमा रहेको जनाएको छ। संभावित थप अप्रिय घटना रोक्न अतिरिक्त फोर्स परिचालन गरिएको र स्थानीय प्रशासन उच्च सतर्कतामा बसेको छ।

प्रतिक्रिया दिनुहोस्