वीरगंज महानगरको राजस्व चार महिनामै सवा चार करोडले वृद्धि

वीरगंज । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वीरगंज महानगरपालिकाको आन्तरिक राजस्व सङ्कलन उल्लेखनीय रूपमा बढेको छ। कात्तिक मसान्तसम्म महानगरले २१ करोड ३ लाख ९६ हजार ४०८ रुपैयाँ राजस्व सङ्कलन गरेको छ, जसले गत आव २०८१/८२ को सोही अवधिमा उठेको राजस्वभन्दा ४ करोड १९ लाख ८१ हजार २९७ रुपैयाँ बढी योगदान गरेको छ।

राजस्व महाशाखाका प्रमुख मनोज कर्णका अनुसार, यस अवधिमा करदाता सचेतना, सेवा प्रवाहको सहजता तथा डिजिटल माध्यमबाट हुने कारोबारले राजस्व वृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन्।

सबैभन्दा बढी सम्पत्तिकरबाट राजस्व बढ़ेको छ। यस शीर्षकबाट मात्र ७ करोड ५६ लाख ६० हजार ५५१ रुपैयाँ सङ्कलन भएको छ, जुन कुल राजस्वको प्रमुख स्रोत बनेको छ। त्यस्तै, भूमि/मालपोत करबाट ३७ लाख ६७ हजार ९८०, घरबहाल करबाट १ करोड ६० लाख ८६ हजार २२९, र साना सवारीसाधन करबाट १ लाख ३२ हजार ३०० रुपैयाँ महसुल उठाइएको छ।

महानगरका पूर्वाधार तथा सेवा प्रयोगसँग सम्बन्धित करबाट पनि राम्रो वृद्धि भएको छ। पूर्वाधार सेवा प्रयोग करबाट २ करोड २५ हजार ४००, मनोरञ्जन करबाट ६ लाख १३ हजार २३, र व्यवसाय दर्ता तथा नवीकरण दस्तुरबाट ९९ लाख ९२ हजार ९०० रुपैयाँ सङ्कलन भएको छ।

त्यसैगरी, मासु तथा पशुपक्षीजन्य वस्तुको कारोबारमा लाग्ने अखेटोपहार कर दोस्रो ठूलो आयस्रोत बनेको छ। यस शीर्षकबाट ५ करोड १० लाख ६३ हजार ४६२ रुपैयाँ उठेको छ, जुन वीरगंजको व्यापारिक सक्रियता झल्काउने प्रमुख सूचक मानिन्छ।

महानगरले उपलब्ध गराउने अन्य प्रशासनिक तथा सार्वजनिक सेवाबाट पनि उल्लेख्य राजस्व प्राप्त भएको छ। सिफारिस दस्तुरबाट ६७ लाख १ हजार २१२, नक्शापास दस्तुरबाट ६७ लाख ७४ हजार ११०, व्यक्तिगत घटना दर्ताबाट १५ लाख ५२ हजार ७२०, नाता प्रमाणित दस्तुरबाट ५ लाख ६८ हजार ६१०, तथा अन्य सेवा शुल्कबाट १ करोड ४९ लाख ८३ हजार ५७९ रुपैयाँ सङ्कलन भएको छ।

यसबाहेक दण्ड–जरिवाना तथा जफत शीर्षकबाट २ लाख ७८ हजार ४७, बेरुजू अन्तर्गत १ लाख ४४ हजार ६४५, र सरकारी सम्पत्ति बहाल आयबाट १ लाख ३६ हजार रुपैयाँ प्राप्त भएको छ।

संपूर्ण राजस्व स्रोतमा देखिएको यो सकारात्मक वृद्धि महानगरको आर्थिक गतिविधि तीव्र बन्दै गएको संकेत भएको कर्णले बताए। उनका अनुसार राजस्व व्यवस्थापनमा पारदर्शिता, सेवा प्रणालीमा सुधार र नागरिकको करबारे बुझाइ बढ्नुले आगामी महीनामा अझ राम्रो परिणाम आउने अपेक्षा गरिएको छ।

चालू आवको कात्तिक मसान्तसम्मको समग्र प्रगति हेर्दा, वीरगंज महानगरपालिकाले लक्ष्यअनुसार राजस्व सङ्कलनलाई बलियो धरातलमा उभ्याएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस्