वीरगंज महानगरमा क्षति : महानगर र प्रहरीबीच ९७ करोडको अन्तर

वीरगंज । जेनजी आन्दोलनका क्रममा वीरगंज महानगरपालिका कार्यालयमा भएको तोडफोड, लुटपाट र आगजनीबाट कत्तिको क्षति भयो भन्ने विषयमा महानगर र प्रहरीबीच ठूूलो फरक देखिएको छ। महानगरपालिकाले ११९ करोड रुपैयाँ बराबरको क्षति भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने क्षति मूल्याङ्कन केवल २२ करोड रुपैयाँ रहेको निष्कर्ष सार्वजनिक गरेको छ।

गत भदौ २४ गते जेनजी आन्दोलन उग्रिएपछि महानगर भवन, सवारीसाधन, उपकरण र विभिन्न संरचनामा तोडफोड तथा आगजनीका घटना भएका थिए। महानगरका अनुसार चारपाङ्ग्रे सवारी १८ वटा, मोटरसाइकल ८ वटा, सातवटा भवन, कम्प्युटर–प्रिन्टरलगायतका इलेक्ट्रोनिक उपकरण तथा फर्निचर नष्ट भएका छन्। यी सबै मिलाएर करिब ११९ करोड रुपैयाँ क्षति भएको महानगरको दाबी छ। यो मूल्याङ्कन महानगरका दुई इन्जिनियर र एक योजना सल्लाहकारद्वारा तयार गरिएको जानकारी सूचना अधिकारी सुनील कर्णले दिएका छन्।

कर्णका अनुसार प्रहरीले गरेको क्षति मूल्याङ्कन ‘हचुवाको आधारमा’ भएको भन्दै त्यसलाई आधिकारिक मान्न नसकिने बताए। उनका अनुसार प्रहरीले आएर सामान्य अवलोकन मात्र गरे पनि विस्तृत मूल्याङ्कन गरेको जस्तो देखाएर २२ करोड क्षति भएको संख्या सार्वजनिक गरेको हो।

घटनापछि लुटिएका केही सामान फिर्ता गराइएका छन् भने क्षति भएका सातमध्ये चारवटा भवनमा सामान्य मर्मतपछि हाल कार्य सञ्चालन भइरहेको कर्णले जानकारी दिए। तीनवटा भवन भने पूर्णरूपमा जलेर प्रयोग अव्यवस्थित अवस्थामा रहेको बताइएको छ।

जिल्लाभरिमा जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण प्रहरी प्रशासनले सार्वजनिक गरिसकेको छ। तर वीरगंज महानगरको विवरण र प्रहरीले सार्वजनिक गरेको अंकबीच देखिएको ‘आकाश–जमीनको फरक’ले क्षति मूल्याङ्कनको विश्वसनीयता र पारदर्शिताबारे प्रश्न उब्जिएको छ।

प्रतिक्रिया दिनुहोस्