समाचारपछि सक्रिय महानगर: सुख्खा बन्दरगाह–बहुअरी सडक उज्यालो बन्ने

वीरगंज । वीरगंजको सुख्खा बन्दरगाहदेखि बहुअरी सडकसम्म वर्षौंदेखि अन्धकारमा डुबिरहेको सडक अब उज्यालो बन्ने भएको छ । हमार वीरगंजमा समाचार प्रकाशित भएपछि सम्बन्धित कार्यालयहरू सक्रिय बनेका छन् । वडा नं. २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीको पहलमा वीरगञ्ज महानगरपालिकाले सो क्षेत्रमा रहेका बिजुलीका पोलहरूमा लाइट सञ्चालनका लागि प्राविधिक टोली परिचालन गरेको हो।

बत्ती नबलेर लामो समयदेखि अँध्यारो रहने सो क्षेत्रमा दुर्घटना, ट्राफिक बिटको अनियमितता तथा तेस्रो लिङ्गीको गलत गतिविधि जस्ता समस्या बढ्दै आएका थिए। समाचार सार्वजनिक भएपछि वडाध्यक्ष चतुर्वेदीले महानगरसँग तत्काल दबाब दिएपछि आवश्यक विद्युतिय सामग्रीसहित प्राविधिक टोली पठाइएकाे वडाले जनाएको छ।

वडाध्यक्ष चतुर्वेदीका अनुसार पोलमा लाइट र झालर त जडान भए पनि विद्युत प्रवाहका लागि आवश्यक तारलगायतका सामानको अभावकै कारण सडक अन्धकारमै थियो। उनले यसअघि नै यसको जानकारी महानगरलाई गराइएकाे भए पनि ठूलो चासो नदिइएको बताउँदै समाचार सार्वजनिक भएपछि मात्र काम सुरु भएको प्रतिक्रिया दिए।

चतुर्वेदीले बत्ती नहुँदा विभिन्न विकृति मौलाएको स्वीकार गर्दै यस्ता गतिविधि नियन्त्रणका लागि वडास्तरबाट पनि कडाइ हुने बताए। साथै, सुख्खा बन्दरगाह क्षेत्रमा सडक विभागको लापरवाहीका कारण लगातार धुलो उड्ने समस्या रहेको उल्लेख गर्दै त्यसबारे छानबिन र समाधानका लागि समिति गठन गरिने जानकारी दिए।

समयमै सडक निर्माण नगरिदिने ठेकेदारको ढिलासुस्तीले क्षेत्र अझै धुलाम्मे भइरहेकाले यसतर्फ पनि जिम्मेवार निकायलाई कडाइ गर्नुपर्ने नागरिकको माग बढ़िरहेको छ।

प्रतिक्रिया दिनुहोस्