सिर्सिया–वीरगंज भन्सार मार्गमा ‘अँध्यारोको खेल’ : ट्राफिक बिटमा रातपरेपछि असुलीको ‘स्पेशल मोड’

नियन्त्रण कमजोर, भ्रष्टाचार झन् गहिरिँदै

अध्यारोमा ट्राफिक बिट अगाडी रहेको ट्यांकर र लेनदेन मिलाउंदै मध्यस्थकर्ताहरु । तस्वीर ः हमार वीरगंज

 

वीरगंज । वीरगंजको एक प्रमुख सडकमा रात परेपछि अनौठो दृश्य देखिन्छ—ठूला–ठूला बिजुलीका पोलहरू, तिनमा झुण्ड्याइएका रंगिन झालर, तर कतै पनि बत्ती बल्दैन। अँध्यारो सडक, सडकछेउमा जेनजी आन्दोलनमा जलेर घाइते सरह ठडिएको एउटा प्रहरी बिट, त्यस बिटमा एउटा चार्जेबल बत्ती, त्यही अँध्यारोबीच भारतबाट भन्सार पास भएर निस्कने करिब हजारको संख्यामा मालवाहक ट्रकहरूको चाप, र टर्च बालेर ड्युटीमा खटिएका ट्राफिक प्रहरीहरू। पहिलो नजरमा हेर्दा प्रहरीहरू कठोर परिस्थितिमा पनि कर्तव्य निर्वाह गरिरहेका जस्ता देखिन्छन्, दया लागेर आउँछ। तर यहाँ नाटक भने अर्कै रहेछ। अँध्यारो परेको होइन, गराइएको हो। बत्ती बिग्रिएको होइन, नबाल्न लगाइएको जस्तो भान हुन्छ।

उल्लेखित दृश्य वीरगंजको सिर्सिया सुख्खा बन्दरगाह भन्सारदेखि १ सय मिटर पूर्व मुख्य बाटोमा अवस्थित ट्राफिक प्रहरी कार्यालय, पर्साको ट्राफिक बिटको हो। बारम्बार चर्चाको विषयमा रहने उक्त बिटमा रात परेसँगै सवारी चेकजाँच गर्ने भन्दै एकाएक ट्राफिक प्रहरीको संख्या बढ्न थाल्छ—कोही वर्दीमा, कोही सादा पोशाकमा। खटिएका जवान तथा पदाधिकारीहरू आ–आफ्नो भूमिकामा उत्रन्छन्।

भन्सार पास भएर नेपालका लागि सुख्खा बन्दरगाह तथा आइसिपीबाट निस्कने मालवाहक ट्रकहरूलाई ट्राफिक प्रहरीले कागजपत्र चेकजाँच गर्ने भन्दै रोकेर प्रत्येक ट्रकबाट तोकिएको मूल्य असुल्छन्। नतिर्ने वा आनाकानी गर्नेहरूको गाडी साइड लगाइन्छ। रोकिएका ट्रकहरूको मध्यस्थकर्ता आएर बार्गेनिङ गरेपछि मात्र ती ट्रकहरूलाई जान दिइन्छ—दादागिरी शैलीमा। ट्रकहरूबाट प्रहरीले ३ सयदेखि १ हजारसम्म असुल्ने गर्छन्।

दिनभर एक जनाको भरमा चल्ने बिटमा रात पर्नासाथ आधा दर्जन ट्राफिक प्रहरीहरूको उपस्थितिमा भारतीय तथा नेपाली चालकहरूलाई विभिन्न जालझेल गरी लाखौँ रकम असुल्ने गरिएको प्रत्यक्षदर्शीहरूले बताउँछन्। अध्यारोमा ट्राफिक प्रहरीले झनै उत्साह पाउँछन्, किनकि पक्राउ पर्नु वा कसैको आँखा पर्नु कठिन हुन्छ।

उक्त बिटबाट दैनिक उठाइएका लाखौँ रकम जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका पदाधिकारीहरूको खल्तीमा जाने र उनीहरूले माथिल्लो निकायसम्म हिस्सा पठाउने गरिएको कुरा बारम्बार विभिन्न माध्यमहरूबाट उठान भइरहे पनि हालसम्म कसैलाई कारबाही नभएकोले माथिल्लो निकायको समेत मिलेमतो रहेको स्थानियहरूले बताएका छन्।

यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय, पर्साका प्रमुख एकराज कट्वालले प्रदेश प्रहरी कार्यालयले समेत चासो राखेकाले आफूले विषय बुझिरहेको प्रतिक्रिया दिए।

यता, दैनिक हजारौँ संख्यामा देशकै प्रमुख नाका—सुख्खा बन्दरगाह तथा आइसिपी भन्सार—बाट निस्कने मालवाहक तथा अन्य सवारीसाधनलाई नियमन गर्न बसेको ट्राफिक बिटमा सिसि क्यामेरा तथा पर्याप्त उज्यालोको व्यवस्था तत्काल गर्नुपर्ने स्थानीयवासीले माग गरेका छन्। सडक सुरक्षाको जिम्मेवारी लिएको निकाय नै अँध्यारोमा, बिना सिसि क्यामेरा, अपारदर्शी ढंगले सञ्चालन हुँदा आम नागरिकले प्रश्न उठाउनु स्वाभाविक भएको उनीहरूको भनाइ छ।

देशमा परिवर्तन अपरिहार्य रहेको बुझेर जेनजी आन्दोलनको आव्हान गरिएको र त्यस आन्दोलनले प्राप्त उपलब्धीको रूपमा संसद् विघटन तथा निर्वाचनमार्फत देशलाई नयाँ नेतृत्व दिने बहस भइरहे पनि सदियौँदेखि भ्रष्टाचारमा डुबेको नेपालका कर्मचारीतन्त्र र सुरक्षातन्त्रमा खासै सुधार नदेखिएको आलोचना बढ्दो छ। कर्मचारीतन्त्रलाई संविधानअनुसार नचालिए परिवर्तनका लागि गरिने जुनसुकै आन्दोलनको अन्तिम उपलब्धी शून्यमै सीमित हुने टिप्पणी स्थानीयबासी र विश्लेषकहरूको रहेको छ।

प्रतिक्रिया दिनुहोस्