संसद पुनस्र्थापनाको मागसहित वीरगंजमा एमालेको प्रदर्शन

जेनजी आन्दोलनको छानबीन र कारबाइको माग

वीरगंज । नेकपा एमालेले जेनजी आन्दोलनबाट स्थापित सरकारले संविधान विपरीत शासन गरिरहेको आरोप लगाउँदै संसद् पुनस्र्थापनाको मागसहित शनिवार वीरगंजमा प्रदर्शन गरेको छ। देशव्यापी विरोध कार्यक्रमअन्तर्गत वीरगंजमा गरिएको प्रदर्शन बिपी उद्यानको रातो बंगला परिसरबाट र्यालीका रूपमा सुरु भई नगरपरिक्रमापछि घण्टाघरमा आएर सभामा परिणत भएको थियो।

सभामा एमाले पर्साका इन्चार्ज तथा केन्द्रीय सदस्य प्रभु हजरा, सल्लाहकार समितिका सदस्य जालिम मियाँ, प्रदेश कमिटीका प्रद्युम्न चौहान तथा जिल्ला सचिव महेश दासले सम्बोधन गरेका थिए। सम्बोधनका क्रममा उनीहरूले जेनजी आन्दोलनको बलमा गठन भएको अहिलेको सरकार संवैधानिक नभएको दाबी गर्दै संसद् पुनस्र्थापनाबाट मात्रै राजनीतिक स्थायित्व सम्भव हुने तर्क गरे।

नेताहरूका अनुसार विघटित संसद् पुनस्र्थापना, गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा भएका हत्या, आगजनी, तोडफोड र लुटपाट घटनाको निष्पक्ष छानबिन, तथा सो घटनाका दोषीमाथि कडा कारबाइ गरी तीनवटा प्रमुख माग एमालेले अघि सारेको छ।

उनीहरूले सरकारले संवैधानिक सीमा नाघेर एकतर्फी निर्णयहरू गरिरहेकाले देश अस्थिरताको दिशामा अघि बढिरहेको आरोप पनि लगाए।

एमालेले आजको प्रदर्शनलाई सफल बनाउन यसअघि कात्तिक २२ गते वडास्तरीय तथा २५ गते नगरस्तरीय प्रदर्शन गरी संगठनलाई सक्रिय पारेको थियो। आज देशभरका सदरमुकाम र प्रमुख शहरहरूमा जनप्रदर्शनको आयोजना गरिएको पार्टीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्