स्वर्ण जयन्ती भव्य रूपमा सम्पन्न

ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जले लेख्यो ५० वर्षको सफल यात्रा

वीरगञ्ज । ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगञ्ज क्षेत्रले आफ्नो स्थापना भएको ५० वर्ष पूरा गरेको अवसरमा स्वर्ण जयन्ती उत्सव भव्य रूपमा सम्पन्न गरेको छ। दुई दिनसम्म चलेको यस विशेष समारोहमा विविध सांस्कृतिक प्रस्तुति, सम्मान कार्यक्रम तथा आध्यात्मिक क्रियाकलापहरू समावेश गरिएको थियो।

उत्सवका प्रमुख आकर्षणमध्ये संस्थाका लागि भवन निर्माण तथा विभिन्न उद्देश्यमा जग्गा दान गर्ने दाताहरूलाई गरिएको सम्मान प्रमुख रह्यो। सोही अवसरमा १ सय ८ कुमारीहरूको पूजा, स्नेह–मिलन तथा राजयोगसम्बन्धी प्रशिक्षण कार्यक्रमसमेत आयोजना गरिएको थियो, जसले सहभागीहरूमा आध्यात्मिक उर्जा र एकता थप मजबुत बनाइदिएको सहभागीहरूले बताए।

कार्यक्रमकी प्रमुख अतिथि तथा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र नेपालकी निर्देशक राजयोगिनी राजदादीले समाजमा फैलँदो विकृति, नकारात्मकता र असहज वातावरण हटाउन आध्यात्मिक चेतना सबैभन्दा प्रभावकारी माध्यम भएको बताइन्। उनले ब्रम्हकुमारी संस्थाले पाँच दशकदेखि सद्भाव, भाइचारा, शान्ति र सकारात्मक चरित्र निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरिन्।

सहभागीहरूले पनि हालको विषम परिस्थिति, तनाव–क्लान्ति र सामाजिक असन्तुलनका बीच ब्रम्हकुमारी संस्थाको आध्यात्मिक मार्गदर्शन अझ आवश्यक भएको धारणा राखे। संस्थामा महिलाको सशक्त नेतृत्व देखिनुले ‘महिलाले नेतृत्व गर्न सक्दैनन्’ भन्ने सामाजिक भ्रमलाई चिर्न सफल भएको वक्ताहरूको टिप्पणी थियो।

कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी प्रमुख रवीना श्रेष्ठले पाँच दशकको यात्रा सबैको सहयोग, विश्वास र समर्पणको परिणाम भएको बताइन्। उनले ब्रम्हकुमारी संस्था सामान्य संगठन नभई मानव जीवनमा रहेको तनाव, असन्तुष्टि र अज्ञानता हटाई आध्यात्मिक चेतनाको प्रसार गर्ने ‘ईश्वरीय विश्व विद्यालय’ भएको उल्लेख गरिन्।

स्वर्ण जयन्तीका अवसरमा नेपालका विभिन्न स्थानसँगै भारतको राजस्थानस्थित माउण्ट आबू तथा बिहारबाट समेत सयौँ साधिकाहरूको सहभागिता रह्यो। हाल नेपालभर करिब एक हजार प्रशिक्षण केन्द्रमार्फत संस्थाले आध्यात्मिक ज्ञान र सेवा विस्तार गरिरहेको जानकारी कार्यक्रममा दिइयो।

प्रतिक्रिया दिनुहोस्