जेनजी आन्दोलनपछि पर्साका दुई ठूला कार्यालयको ८० प्रतिशत बजेट कटौती

पर्सा — भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पर्सास्थित दुई प्रमुख सरकारी कार्यालयहरूको बजेटमा ठूलो कटौती भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका अनुसार शहरी विकास तथा भवन कार्यालय र खानेपानी तथा ढल व्यवस्थापन कार्यालयको झण्डै ८० प्रतिशत बजेट कटौती गरिएको हो ।
कोष तथा लेखा नियन्त्रक मनोजप्रसाद जोशीका अनुसार दुवै कार्यालयका लागि विनियोजित रकम तत्काल रोक्का राख्न सरकारबाट आदेश आएको छ । उनले भने, “दुवै कार्यालयमार्फत भएका कामहरूको भुक्तानी हालका लागि रोकिएको छ । मन्त्रालयस्तरबाट नै बजेट रोक्का राख्न निर्देशन आएको हो ।” स्रोतका अनुसार दुवै कार्यालयमार्फत भएका कामहरूमा विस्तृत अनियमितता र चलखेलका सूचना पाइएको कारण सरकारले तत्कालका लागि भुक्तानी रोक्ने निर्णय गरेको हो । चालू आर्थिक वर्ष साउनदेखि संघीय सरकारले खाता सञ्चालन गरेपछि ती कार्यालयहरूले अघिल्लो सरकारको योजनाअनुसार काम अघि बढाएका थिए । तर हालको सरकारले ती काममा अनियमितता भएको ठहर गर्दै रकम कटौती गरेको बताइएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, पर्सालाई चालू आर्थिक वर्षमा रु ८६ करोड ५० लाख बजेट पठाइएको थियो । तर सो मध्ये ८० प्रतिशत रकम रोक्का भएपछि अधिकांश आयोजनाहरू ठप्प भएका छन् ।
साउनदेखि भदौ २२ गतेसम्म कार्यालयले करिब रु १५ करोड बराबरका काम गराएकोमा सोको भुक्तानी दिन बाँकी रहेको छ ।
गत वैशाखदेखि वीरगंजसहित पर्साका विभिन्न पालिकाहरूमा खानेपानी अभावका बेला डीप बोरिङ जडान गरिएको थियो। तर बजेट रोकिँदा ती कामको भुक्तानी हुन नसकेर डीप बोरिङका करिब रु ६ करोड र अन्य शीर्षकमा रु ९ करोड गरी जम्मा रु १५ करोड भुक्तानी बाँकी छ ।
खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, वीरगंजले पर्सा, बारा, रौतहट र सर्लाही गरी चार जिल्लाको जिम्मेवारी सम्हाल्दै आएको छ । बजेट रोकिँदा यी जिल्लाका अधिकांश खानेपानी तथा ढल निर्माण आयोजनाहरू रोकिएका छन् ।
कार्यालयले संचालन गर्दै आएका प्रमुख प्रभावित आयोजनाहरूमा ठोरी बृहत् खानेपानी आयोजना (रु ४ करोड), निर्मलबस्ती खानेपानी आयोजना (रु ३ करोड), निजगढ बृहत् खानेपानी आयोजना (रु ७ करोड), तराई–मधेस टङ्की निर्माण (पर्सा र सर्लाही, रु ३–३ करोड), चन्द्रपुर सन्तपुर खानेपानी आयोजना (रु ३ करोड), रौतहट, बारा र सर्लाहीका विभिन्न नगरपालिकामा साना खानेपानी आयोजना (रु २५ लाखदेखि ३ करोडसम्म), दिसाजन्य फोहर व्यवस्थापन रौतहट (रु ३ करोड), खेसरिया, मौलापुर र विन्ध्यवासिनीका वर्षात्को पानी व्यवस्थापन आयोजना (रु ४० लाखदेखि १ करोडसम्म) जस्ता योजना ठप्प भएका छन् ।
त्यस्तै, शहरी विकास तथा भवन कार्यालयमार्फत वीरगंज उपमहानगरपालिकाभित्रका सडक, नाला, भवन र पुनर्निर्माणका काम पनि स्थगित भएका छन् ।
बजेट रोकिँदा अहिले कार्यालयहरूमा दैनिक कामकाज समेत प्रभावित भएको छ । निर्माण व्यवसायीहरू भुक्तानी रोकिँदा असन्तुष्ट बनेका छन् भने स्थानीय तहका योजनाहरू समेत अनिश्चित बनेका छन् ।
जोशीका अनुसार, “अघिल्ला वर्षमा देखिएका अनियमितता र खर्च प्रमाणिकरणमा कमजोरीकै कारण सरकारको यस्तो निर्णय आएको हो । समीक्षा गरेर मात्रै पुनः बजेट सञ्चालन हुनेछ,” उनले स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्