पर्सामा मिटरब्याजसम्बन्धी १ हजार ६९७ उजुरी मेलमिलापमार्फत टुङ्गाे

अझै ६३५ मुद्दा बाँकी

वीरगञ्ज । पर्सा जिल्लामा अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी १ हजार ६९७ उजुरी मेलमिलापमार्फत टुङ्ग्याइएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार हालसम्म जिल्लाभरमा दुई हजार ३६७ उजुरी परेका छन्, जसमध्ये ६ सय ३५ उजुरी अझै फर्छ्योट हुन बाँकी छन् ।

उनका अनुसार मेलमिलापबाट फिर्ता गरिएको बिगो २९ करोड १२ लाख ८५ हजार ५ सय ९७ रुपैयाँ पुगेको छ भने ४० बिघा १५ कट्ठा १९ धुर जग्गा पीडितलाई फिर्ता गरिएको छ ।

मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनका सचिव शम्भुप्रसाद यादवले वास्तविक पीडितहरू अझै न्यायबाट वञ्चित रहेको बताए । उनले भने, “एक लाख रुपैयाँको ऋण दिएर तीन लाख रुपैयाँसम्मको तमसुक बनाउने साहुकारको प्रवृत्ति अझै पनि हटेको छैन । अझै पनि वास्तविक मिटरब्याज पीडितले न्याय पाउन सकेका छैनन् ।”

त्यस्तै, पोखरिया नगरपालिकाका कनैयाप्रसाद यादवले पाँच वर्षअघि लिएको एक लाख १० हजार रुपैयाँ ऋणमा साहुकारले तीन लाख ३० हजार रुपैयाँको तमसुक बनाएको आरोप लगाए । उनले भने, “सरकारले यस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्न गम्भीर हुनुपर्छ ।”

स्थानीयवासीहरूले मिटरब्याजका घटनामा साहुकारहरूको मनपरी रोक्न र वास्तविक पीडितलाई राहत तथा न्याय दिलाउन राज्य अझ कडाइका साथ अघि बढ्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्