अफताब आलमको निधनप्रति रौतहटका तीन नगरपालिकाद्वारा शोक बिदा

वीरगञ्ज — बम विस्फोटमा घाइतेहरूलाई इँटाभट्टामा जिउँदै जलाएको आरोप लागेका नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री मोहम्मद अफताब आलमको निधनप्रति रौतहट जिल्लाका तीन स्थानीय तहले आज (आइतबार) शोक बिदा घोषणा गरेका छन् ।

आलमको शनिबार बिहान काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालमा उपचारका क्रममा निधन भएको हो । ७० वर्षीय आलमलाई नख्खु कारागारबाट गत जेठ १४ गते रिहा गरिएपछि ब्रेन स्ट्रोकका कारण अस्पताल भर्ना गरिएको थियो ।

आलमका छोरा तथा राजपुर नगरपालिकाका प्रमुख डा. मोहम्मद राजीक आलमका बुबा मोहम्मद अफताब आलमको निधनप्रति राजपुर नगरपालिकाले गहिरो शोक व्यक्त गर्दै आजका लागि सार्वजनिक बिदा दिएको छ ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरद्वारा जारी सूचनामा भनिएको छ, “नगर प्रमुख डा. मोहम्मद राजीक आलमज्यूका बुवा आदरणीय मोहम्मद अफताब आलमज्यूको असामयिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै शोक बिदा दिइएको व्यहोरा जानकारीका लागि अनुरोध छ।”

यसैगरी, परोहा नगरपालिकाले पनि आलमको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत मोहम्मद महफुज अहमदले जानकारी दिए । सूचनामा भनिएको छ, “रौतहट–२ का पूर्व सांसद एवम् पूर्व मन्त्री मोहम्मद अफताब आलमज्यूको असामयिक निधनप्रति शोक व्यक्त गर्दै शोक बिदा दिइएको छ । अस्पतालको आकस्मिक सेवाबाहेक सबै कार्यालय र विद्यालय बन्द रहनेछ।”

ईशनाथ नगरपालिकाले पनि नगर प्रमुखको आदेशअनुसार आज शोक बिदा दिएको नगरपालिका अधिकृत सातौँ इसराजुल खाँले जानकारी दिए ।

मुस्लिम परम्पराअनुसार आलमको अन्त्येष्टि शनिबार नै सम्पन्न गरिएको पारिवारिक स्रोतले जनाएको छ । उनका दुई छोरा — डा. फिरदोस आलम र डा. राजीक आलम — तथा एक छोरी छन् ।

२०३४ सालदेखि राजनीतिक यात्रा सुरु गरेका आलम २०५१ सालको उपनिर्वाचनमा रौतहटबाट पहिलो पटक सांसद निर्वाचित भएका थिए । त्यसपछि उनले २०५४ मा श्रम राज्यमन्त्री र २०५५ मा वन राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए ।
२०५६ र २०६४ को निर्वाचनमा पुनः निर्वाचित भएका उनी भूमिसुधार मन्त्री तथा श्रम तथा यातायात मन्त्री समेत बनेका थिए । २०६६ जेठमा माधवकुमार नेपाल नेतृत्वको सरकारले उनलाई श्रम तथा यातायात व्यवस्था मन्त्री नियुक्त गरेको थियो ।

२०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका दुई व्यक्तिलाई इँटाभट्टामा जिउँदै जलाएर हत्या गरेको अभियोगमा आलममाथि मुद्दा दायर गरिएको थियो ।
रौतहट जिल्ला अदालतले २०८१ वैशाख १४ गते उनलाई जन्मकैदको फैसला सुनाएको थियो ।
तर उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जले गत जेठ १४ गते जिल्ला अदालतको फैसला उल्ट्याउँदै आलमलाई सफाइ दिएको थियो । रिहा भएलगत्तै उनको स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो ।

आलमको निधनप्रति नेपाली काँग्रेसले पनि गहिरो शोक व्यक्त गर्दै मङ्गलवारसम्मका लागि पार्टीका सबै कार्यक्रम स्थगित गर्ने र झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

रौतहटमा तीन स्थानीय तहद्वारा घोषित शोक बिदासँगै राजनीतिक र सामाजिक वृत्तमा पूर्व मन्त्री आलमको निधनप्रति मिश्र प्रतिक्रिया देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्