गृहमन्त्री अर्यालमाथि जेनजी अभियन्ताको आक्रोस

काठमाडौं । जेनजी अभियन्ताका रूपमा परिचित सुदन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको कार्यशैली र परिणामप्रति चर्को असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत गृहमन्त्रीलाई सीधा प्रश्न गर्दै उनले, "हत्यारालाई कारबाही गर, भ्रष्टाचारीलाई कारबाही गर" भन्ने जनताको आवाजलाई बेवास्ता गर्दै पदमा बसिरहनु राष्ट्रप्रति अपमान भएको आरोप लगाएका छन् । गुरुङले वर्तमान सरकार गठन भएको दुई महिना बित्न लाग्दा पनि कुनै पनि भ्रष्ट वा हत्यारालाई कारबाही नगरिएको दाबी गरेका छन् । उनले जनअपेक्षा पूरा गर्न नसके पद छोड्ने वाचा गृहमन्त्रीलाई स्मरण गराउँदै यदि जनभावना र जेनजीका मागहरू सम्बोधन नगरिए आगामी चुनाव हुन नदिने चेतावनी समेत दिएका छन् ।

पदमा टाँसिरहेमा आउँदो प्रेस कन्फ्रेन्सले गृहमन्त्रीको भविष्य निर्धारण गर्ने चेतावनी दिँदै उनले प्रधानमन्त्रीको प्रिय पात्र बनेर कुर्सी बचाइराख्ने भ्रममा नपर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्