हर्क साम्पाङलाई जेनजीको फोन- 'मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्'

सरकारमा सहभागी भएर आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने अवसर खोजिरहेका छन्

काठमाडौं : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङका समर्थकहरु जुन अनुपातमा छन्,आलोचक पनि बराबरी देखिन्छन् । जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन आह्वान गरेलगत्तै सबैभन्दा पहिले (मंगलबार साँझ) अन्तरिम सरकारको नेतृत्व माग्दै सैनिक मुख्यालय पुगेका उनी हिजो (आइतबार) पनि प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगे ।  

उनले सरकारमा सहभागी भएर आफ्नो नेतृत्व क्षमता प्रमाणित गर्ने अवसर खोजिरहेका छन्,यसमा कुनै दुई मत देखिदैँन । नेतृत्वको माग गर्दै २४ घण्टामा ६० भन्दा स्टाटस लेख्नुले उनको नेतृत्व गर्ने भोकलाई झल्काएको छ । त्यही कारण उनी खिसिट्युरीका पात्रसमेत बनेको देखिन्छ । 

यसरी नेतृत्वको लागि दौडधुप गरिरहेका,तर सार्थकता नपाएका साम्पाङलाई जेनजी आन्दोलनको प्रमुख स्टेक होल्डर दावी गर्ने युवाहरुको समूहले भने ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’ भनेको खुलेको छ । हिजो बालुवाटारबाट फर्केपछि साम्पाङले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखेका थिए, ‘मन्त्री बन्नुअघि भारतीय दूतावास किन जानु पर्ने रैछ ? यो मैले नबुझेको !’

पूर्वप्रधानन्यायाधीश समेत रहेकी कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको समाचार नेपालभन्दा पहिले भारतीय मिडियामा छ्यापछ्याप्ती हुनु, भारतमै निर्वासित जीवन बिताइरहेका  तिब्बतीयन धार्मिक नेता दलाई लामाले इतिहासमै पहिलोपल्ट नेपालको प्रधानमन्त्रीलाई शुभकामना सन्देश पठाउनु,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि कार्कीलाई चार वटा माध्यम (तीन भाषा र सार्वजनिक समारोह)बाट चासोका साथ शुभकामना दिनु र अन्तरिम सरकारमा जान लालायित देखिएका साम्पाङलाई ‘मन्त्री बन्ने भए भारतीय दूतावास पुगेर आउनुस्’ भनिनुले जेनजी आन्दोलनमाथि गम्भीर आशंका सिर्जना गरेको छ । 

प्रधानमन्त्री कार्कीसँगको भेटमा आफूले निर्धक्कसाथ सरकारमा सहभागी हुन इच्छुक रहेको बताएको उनको भनाई छ । जवाफमा कार्कीले भने कुनै स्पष्ट जवाफ दिइनन् ।

यसबारे जनआस्थाले मेयर साम्पाङलाई सम्पर्क गरेर हिजो बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भएको भेट र भारतीय दूतावास जान प्राप्त भएको सल्लाहबारे विस्तृतमा बुझेको थियो । साम्पाङले प्रथमतः हिजो बिहान ८ बजेतिर बालुवाटार पुगेको जानकारी दिए । प्रधानमन्त्री कार्कीसँगको भेटमा आफूले निर्धक्कसाथ सरकारमा सहभागी हुन इच्छुक रहेको बताएको उनको भनाई छ । जवाफमा कार्कीले भने कुनै स्पष्ट जवाफ दिइनन् । ‘मैले मेरो कुरा राखेपछि उहाँले खुलेर कुरा गर्नुभएन, सबै मिलेर जानुपर्छ मात्रै भन्नुभयो’, साम्पाङले भने, ‘अहिले आन्दोलन कसको हो भन्ने नै अन्यौल छ, म सिधा मान्छे,लागेको कुरा भन्छु,तर उहाँ मसँग खुलेर कुरा गर्नै डराएको जस्तो देखेँ ।’

बालुवाटारबाट फर्किएपछि आफूलाई जेनजी आन्दोलनको स्केट होल्डर दावी गर्ने युवाहरुको समूहबाट फोन आएको र भारतीय दूतावास पुग्न सल्लाह दिएको पनि साम्पाङले जनआस्थालाई जानकारी गराए । ‘म त घुमाएर कुरा गर्न जान्दिनँ,सिधै मैले जादिनँ भनेँ,कतिलाई पच्ला-नपच्ला,मन्त्री बन्न म भारतीय दूतावास जाने होइन नि,बरु मन्त्री भएपछि फूल लिएर त्यहाँको राजदूत मलाई भेट्न आउने हो’, उनले कुराकानीबारे भने, ‘अर्को देशको दूतावासले नेपालमा मन्त्री बनाउने भन्ने पनि हुन्छ ? पुरै गञ्जागोल देखियो, देशको लागि काम गर्ने मान्छे किन दूतावास पुग्नुपर्यो ? म जाँदिनँ ।’

सरकारमा जान आफू इच्छुक रहेको तर त्यसको लागि कोही कसैसँग सम्झौता नगर्ने पनि साम्पाङले स्पष्ट पारे । ‘मलाई जिम्मेवारी दिन लायक ठान्लान् वा नठान्लान्, त्यो अर्कै कुरा हो, तर उनीहरुले भनेजसरी म भारतीय दूतावास पुगेरचाहिँ सरकारमा जाँदिनँ’, उनले जिकिर गरे । 

स्मरण छ कि, गत बुधबार जेनजी युवाहरुको समूहले डिस्कर्डमार्फत् भोटिङ गरेर पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्रीमा सिफारिस गरेको थियो । त्यतिबेला कार्कीसँगै भोटिङको लागि साम्पाङलाई पनि उम्मेद्वारको रुपमा राखिएको थियो । तर, उनले उल्लेख्य भोट पाउन सकेनन् । त्यसरी भोटिङमार्फत् उम्मेद्वार चयन गरेका युवाहरुको समूहले नै भारतीय दूतावास जान सल्लाह दिएपछि यतिबेला साम्पाङ स्वयं पनि चकित परेका छन् । ‘म त दायाँबायाँ जान्दिनँ, काम गर्ने मान्छे हुँ,काम गर्छु पनि,ढिलो चाँडो को कस्तो हो,पानी सङलो बनेपछि थाहा भइहाल्छ’, उनले थपे । (साभार ः जनआस्था)

प्रतिक्रिया दिनुहोस्