सखुवापरसौनीमा गापाध्यक्ष–उपाध्यक्षबीच मल वितरण विवाद

सम्वादाता | २०८२ भदौ २० गते ०१: ३३ मा प्रकाशित

वीरगन्ज — पर्साको सखुवापरसौनी गाउँपालिकामा अनुदानको मल वितरणलाई लिएर गापाध्यक्ष र उपाध्यक्षबीच विवाद चुलिएको छ। वडा नं. २ स्थित कोडेक कृषि सहकारी संस्था लिमिटेडमार्फत मल वितरणमा अनियमितता भएको भन्दै गाउँपालिका उपाध्यक्ष शर्मिला विष्ट महतो संयोजकत्वमा रहेको बजार अनुगमन समितिले कोडेकलाई बिक्रीमा रोक लगाएको थियो।

अनियमिततामा मृत व्यक्तिको नामसमेत सूचीमा राखिएको, नातागोता र आसेपासेलाई मात्रै मल दिएको तथा कालोबजारी गरिएको गुनासो समितिसम्म पुगेपछि बिक्री रोक्ने निर्णय गरिएको हो। तर, गापाध्यक्ष यशवन्त यादव ले समितिको निर्णय अस्वीकार गर्दै कृषि सामग्री कम्पनी वीरगन्जलाई पत्राचार गरेर कोडेकलाई नै मल बिक्रीको अनुमति दिन आग्रह गरेका थिए।

उपाध्यक्ष महतोले भने विभिन्न दलका स्थानीय नेता, कार्यकर्ता र किसानहरूलाई साथ लिएर बिहीवार कृषि सामग्री कम्पनी वीरगन्जमा पुगेर ज्ञापन पत्र बुझाइन्। उनले समितिको निर्णय कार्यान्वयन गर्न दबाब दिएकी थिइन्।

कृषि सामग्री कम्पनी वीरगन्जका प्रमुख दुर्गा पाण्डे ले अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका २०७७ बमोजिम उपाध्यक्ष संयोजक रहेको समितिको निर्णयलाई मान्यता दिँदै गापाध्यक्ष यादवको सिफारिस बदर गरेका छन्। पाण्डेका अनुसार समितिको निर्णयअनुसार बेलमाई कृषि सहकारी संस्था लि. लाई मल बिक्रीको जिम्मा दिइएको छ।

उपाध्यक्ष महतोको पक्षमा पूर्व गापाध्यक्ष प्रदिप जैसवाल, माओवादी केन्द्रका प्रदिप चौधरी, कांग्रेसका श्यामसुन्दर दास, एमालेका इनरदेव महतो, राप्रपाका सुधीर दासलगायतका स्थानीय नेता तथा किसान खुलेरै समर्थनमा उत्रिएका थिए।

गापाध्यक्ष यादव र उपाध्यक्ष महतो दुवै हालैको स्थानीय निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्