चौधरीका चर्तिकला त कति हो कति

सम्वादाता | २०८२ भदौ १६ गते ०३: ३३ मा प्रकाशित

व्यापारमा मात्र होइन,राजनीतिमा समेत 'लटर पटर' गर्न खप्पिस कांग्रेस सांसद तथा धनाढ्य व्यापारी विनोद चौधरीले चुनाव जित्न केसम्म गरेका रहेछन् भन्ने एउटा घटना उजागर  भएको छ । २०७९ को निर्वाचनमा पश्चिम नवलपरासी- १ बाट प्रत्यक्ष निर्वाचित सांसद उनले भोट माग्ने क्रममा दिएको एउटा आश्वासन पूरा नगर्दा सयौँको जिन्दगी तहसनहस भएको तथ्य ढिलो गरी खुलासा भएको छ ।    

२०६४ सालको पहिलो संविधान सभामा एमाले कोटाबाट समानुपातिक सभासद भएसँगै राजनीतिमा उदाएका चौधरी अहिले काँग्रेसमा छन् । ०७४ सालमा एमाले छोडेर कांग्रेस प्रवेश गरेका उनी फेरि समानुपातिक सांसद बने । मधेशी क्लस्टरअन्तर्गत लगातार समानुपातिक सूचीमा सुरक्षित रहँदै सांसद खाइरहेका चौधरीलाई गत चुनावमा भने प्रत्यक्ष लड्नुपर्ने भयो । कांग्रेसको प्रभाव क्षेत्र मानिएको नवलपरासी-१ को टिकट हत्याएका उनले सजिलै जिते पनि । तर, भोटका लागि सोझा मधेसीको भावनामाथि गरेको खेलबाड सामान्य छैन । 

भोट माग्ने क्रममा चौधरीले सुस्ता गाउँपालिका-३ स्थित श्रीनगरमा केरा प्रशोधन उद्योग खोल्ने र आकर्षक मूल्यमा आफूले किन्ने आश्वासन दिएका थिए । ‘सिजी स्न्याक्स प्रा.लि’ नामक कम्पनी दर्तासहित उद्योग सञ्चालनका लागि पाँच बिघा जग्गा किनेको कागजसमेत देखाएर विश्वास दिलाए । त्यसमा विश्वास गर्दै करिब साढे तीन हजार किसानले २१ सय बिघामा केरा खेती लगाउन थाले । तर,चुनावपछि सांसदको लोगो लगाएर काठमाडौँ छिरेका चौधरीले केरा उद्योग खोलेनन् । जसका कारण अहिले बोटमै केरा कुहिने अवस्था बनेको छ । 

 

माननीयज्यूले चर्का भाषण गरेर गएपछि यहाँ देखिनुभएको छैन,ठूला पोस्टरमा केराको परिकार देखाएर जनतालाई झुक्याउनुभयो, उहाँकै कारण अहिले किसानहरू रुने अवस्था छ’।

‘उहाँ चुनाव प्रचारको लागि यहाँ आउँदा उद्योगको शिलान्याससमेत गर्नुभएको थियो’, ३ नम्बरका वडाध्यक्ष हरिलाल दुसाध भन्छन्, ‘जग्गा किनेर शिलान्यास नै गरेपछि त जनतालाई पनि साँच्चै हो रहेछ भन्ने पर्यो,तर अहिले किसान खेतमा रोएर बसिरहेका छन् ।’

अहिले एउटा घारीबाट सरदर एक हजार रुपयौँ बराबरको केरा उत्पादन भैरहेको छ । तर, दर्जनको १८ रुपैयाँमा पनि बिक्री भैरहेको छैन । र, त्यतिबेला चौधरीले भोट हत्याउनको लागि आफूहरुलाई झुक्याएको रहेछ भन्ने बुझेका किसानहरू यतिबेला गाउँपालिकाको शरणमा परेका छन् । पालिकाले बजारीकरणमा सहजीकरण गरिदिए हुन्थ्यो भन्ने अपेक्षा उनीहरुको छ । 

‘तर यति धेरै केरा बेच्न स्थानीय सरकारले मात्र बजार दिन सक्दैन’, कृषकले पालिकामा निवेदन दिएको बताउँदै वडाध्यक्षले सुनाए, ‘हामीले पनि प्रदेशका मुख्यमन्त्रीसमक्ष कुरा राखेका छौँ, तर केही समाधान निस्किएको छैन । उनीहरु बोटमै केरा कुहिएको  टुलुटुलु हेर्न विवश छन् ।’

चौधरीको बोलीमा विश्वास गरेर केरा खेतीमा लगानी गरेकाहरूको अवस्था अहिले 'घर न घाट' को जस्तै भएको बताउँदै वडाध्यक्षले थपे, ‘यहाँ त धेरैको बिजोग छ हजुर,हामीले चाहेर पनि केही गर्न सकिरहेका छैनौँ’, उनले भने, ‘जसले किसानलाई केरा लगाउन आग्रह गर्नुभयो, उहाँ नै अहिले कहाँ हुनुहुन्छ हामीलाई थाहा छैन, किसानले सरापिरहेका छन् ।’

यसको जिम्मेवारी चौधरीले लिनुपर्ने भन्दै वडाध्यक्ष दुसाधले किसानमाथि अत्याचार गर्न नपाइने बताए । ‘माननीयज्यूले चर्का भाषण गरेर गएपछि यहाँ देखिनुभएको छैन, ठूला पोस्टरमा केराको परिकार देखाएर जनतालाई झुक्याउनुभयो, उहाँकै कारण अहिले किसानहरू रुने अवस्था छ’, उनले थपे । साभार ः जनआस्था

प्रतिक्रिया दिनुहोस्