हैजा नियन्त्रण अभियान ः वीरगञ्जमा रेडक्रसद्वारा निःशुल्क किट वितरण

सम्वादाता | २०८२ भदौ १६ गते ०२: ३७ मा प्रकाशित
वीरगञ्ज । वीरगञ्जमा हालसालै हैजाको जोखिम बढ्दै गएपछि नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज उपशाखाले वडा नं. १५ का बासिन्दालाई हैजाबाट बचाउन निःशुल्क किट वितरण गरेको छ ।
रेडकसद्वारा वितरण गरिएको किटमा जीवन जल, साबुन, पीयूष लिक्विड र पानी शुद्ध गर्ने ट्याबलेट जस्ता सामग्रीहरू समावेश गरिएका छन् । यी सामग्रीहरूले हैजाको उपचार र रोकथाम दुवैमा सहयोग पु¥याउने जनाइएको छ ।
कार्यक्रमका प्रमुख उमेश मिश्रका अनुसार किट वितरणसँगै स्थानीयलाई हैजाबारे सचेतना फैलाउने अभियान पनि सञ्चालन गरिएको हो । कार्यक्रममा स्वास्थ्यकर्मी र स्वयंसेवकहरूले सरसफाइमा ध्यान दिनुपर्ने, हात धुने तरिका, पानी उमालेर पिउनुपर्ने आवश्यकता र खानपानमा अपनाउनु पर्ने सावधानीबारे जानकारी गराए ।
वडा नं. १५ का स्थानीयवासी विकास साहले हैजाको डरले त्रसित भएको बताउंदै समयमै रेडक्रसले आवश्यक सामग्री र जानकारी दिएकोले अब केही हदसम्म ढुक्क भएका जनाए ।
यसैबीच, स्वास्थ्य कार्यालय पर्साले वीरगञ्जका विभिन्न बस्तीमा हैजासँग मिल्दोजुल्दो लक्षण देखिएको जनाउँदै सतर्क रहन अपिल गरेको छ । चिकित्सकहरूले दूषित पानी सेवन नगर्नु, खुला स्थानमा दिसा नगर्नु र साबुनपानीले नियमित हात धुनु हैजा नियन्त्रणको प्रमुख उपाय भएको औंल्याएका छन् ।
नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखा सदस्य एवं कार्यक्रम संयोजक दयाशकर सिंह का अनुसार हैजा प्रभावित वा जोखिमयुक्त वडा नं. १४, १५ र १६ मा समेत यस्ता कार्यक्रम विस्तार हुँदैछन् । उनले भने,“नेपाल रेडक्रस सोसाइटी वीरगञ्ज शाखालाई ती तीन वडामा किट वितरण र डाटा संकलन गर्ने जिम्मेवारी दिइएको छ ।”
कार्यक्रममा रेडक्रस सदस्य गुडी कुमारी साहको नेतृत्वमा प्रमोद प्रसाद यादव, अभिलाष गुप्ता, विकास कुमार साह, राजेन्द्र ठाकुर, श्याम महतो, राजु साहलगायतका स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्