खानेपानी संकट साझा चुनौती हो, सहानुभूति हैन — मन्त्री प्रदीप यादव

ठोरीमा ‘निर्मल बस्ती खानेपानी आयोजना’को उद्घाटन

सम्वादाता | २०८२ सावन १० गते ०२: ०७ मा प्रकाशित
तस्वीर : साभार
पर्सा । संघीय खानेपानीमन्त्री प्रदीप यादवले मधेस प्रदेशका आठ जिल्लामा देखिएको गम्भीर जलसंकट समाधानका लागि सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार पर्साको ठोरी गाउँपालिका–४ मा निर्माण सम्पन्न ‘निर्मल बस्ती खानेपानी आयोजना’ उद्घाटन गर्दै मन्त्री यादवले खानेपानी संकटलाई साझा जिम्मेवारीका रूपमा समाधान गर्न सबै क्षेत्रको सहकार्य आवश्यक रहेको बताए ।
मन्त्री यादवले हाल तराई–मधेसमा इतिहासकै एक गम्भीर जलसंकट उत्पन्न भएको उल्लेख गर्दै भने, “अब सहानुभूतिले मात्रै हुँदैन, साझा जिम्मेवारीमा सबैले हातेमालो गर्नुपर्छ । यो केवल मधेस प्रदेशको होइन, हाम्रो साझा चुनौती हो ।”
उक्त कार्यक्रममा मन्त्री यादवले आफू नेतृत्व गरेको मन्त्रालयले मधेसको पानी समस्या समाधानका लागि लगातार पहल गर्दै आएको जानकारी गराउँदै भने, “विपद्को यो घडीमा स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउनु हाम्रो कर्तव्य हो, जसमा मन्त्रालय अहोरात्र खटिएको छ ।”
उनले नेपाल सरकारको मन्त्रिपरिषद्बाट मधेस प्रदेशका आठ जिल्लालाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरिनु आफूहरूको विशेष पहलको परिणाम भएको पनि बताए ।
“अब हामी संरचनागत समाधानतर्फ गइरहेका छौं,” मन्त्री यादवले भने, “ठोरीमा सम्पन्न भएको यो आयोजना मन्त्रालयको दीर्घकालीन समाधान खोज्ने रणनीतिक प्रयासको एक प्रमाण हो ।”
खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठका अनुसार, आयोजनाबाट ठोरीका करिब २,१६५ जनसंख्याले प्रत्यक्ष रूपमा लाभ लिनेछन् । आयोजनाअन्तर्गत ओभरहेड ट्याङ्की, डीप ट्युबवेल, पम्प हाउस, कार्यालय भवन तथा आधुनिक ट्रीटमेन्ट प्लान्ट निर्माण गरिएको छ । “अब ठोरीबासीले नियमित, सुरक्षित र भरपर्दो खानेपानी सेवा पाउनेछन्,” श्रेष्ठले भने ।
कार्यक्रममा ठोरी गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुलीकुमारी रेग्मी, जिल्ला भूमी आयोग पर्साका अध्यक्ष तवेरेज अहमद, आयोजनाका प्रमुख विपुलकुमार लाल दास, निर्माण व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।
अन्त्यमा मन्त्री यादवले सबै सरोकारवाला निकाय, संघसंस्था, दातृ समुदाय र नागरिक समाजलाई पानी संकट समाधानमा सहकार्यका लागि आग्रह गर्दै भने, “अब सहानुभूतिका शब्दभन्दा व्यवहारिक सहयोगको खाँचो छ ।”

 

प्रतिक्रिया दिनुहोस्