प्रमद्वारा मधेसका सुक्खाग्रस्त क्षेत्रको हवाई अवलोकन

सम्वादाता | २०८२ सावन १० गते ०१: ३८ मा प्रकाशित
वीरगञ्ज । प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार तराई–मधेसका सुक्खाग्रस्त क्षेत्रहरूको हवाई अवलोकन गरेका छन् । बर्खाको मौसम भए पनि अत्यन्त कम वर्षाका कारण रोपाइँ नहुँदा उत्पन्न खाद्य संकटको गम्भीरतालाई मध्यनजर गर्दै प्रधानमन्त्री ओलीले हेलिकप्टरमार्फत प्रभावित क्षेत्रको निरीक्षण गरेका हुन् । 
सरकारको साउन ७ गतेको मन्त्रिपरिषद् बैठकले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । घोषणा पछि ओलीले मन्त्रालयका मन्त्रीहरू, प्रदेश सरकारका प्रतिनिधिहरू र उच्च प्रशासनिक अधिकारीहरुसंग छलफल गरेका थिए ।
मधेस प्रदेशका किसानहरूले लामो समयदेखि अनियमित मौसम र सिँचाइ अभावका कारण उत्पादनमा गिरावट झेल्दै आएका छन् । यसवर्ष भने पानीको चरम अभावका कारण एक तिहाइभन्दा कम रोपाइँ मात्र हुन सकेको छ । इनार, चापाकलसमेत सुक्न थालेपछि कृषि मात्र नभई खानेपानीको समेत गम्भीर समस्या देखिएको छ ।
प्रधानमन्त्रीको यो निरीक्षण भ्रमणले मधेसका किसानका पीडालाई संघीय सरकारले चासो दिएको संकेतका रूपमा लिइएको छ । किसानहरूले अब सरकारको सहयोगबाट राहत र दीर्घकालीन समाधानको आशा व्यक्त गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्