मधेशमा खडेरीको संकट: दमकलमार्फत पानी वितरण

जनमत पार्टीले ‘सुख्खा क्षेत्र’ घोषणाको माग

सम्वादाता | २०८२ सावन ३२ गते ०१: १६ मा प्रकाशित

वीरगञ्ज। बर्खाको मौसम चलिरहे पनि मधेश प्रदेशमा पानीको चरम अभाव भएपछि दमकलमार्फत खानेपानी वितरण सुरु गरिएको छ ।

पर्साको वीरगञ्जसहित प्रदेशका विभिन्न जिल्लामा पानीको हाहाकार भएपछि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार मुख्यमन्त्री सतिशकुमार सिंहको अगुवाइमा आठवटा दमकल परिचालन गरिएको हो । ती प्रत्येक दमकल पाँच–पाँच हजार लिटर क्षमताका छन्, जसबाट दैनिक प्रयोगका लागि आवश्यक खानेपानी वितरण थालिएको छ ।

मुख्यमन्त्री सिंहले पानी संकटग्रस्त बस्तीहरूमा तत्काल राहतस्वरूप दमकल र ट्रयाङ्करमार्फत पानी पठाइएको जनाएका छन् । "अहिलेको लागि तत्काल राहतका उपाय अपनाइएका छन्, दीर्घकालीन समाधानका लागि प्रदेश सरकार गम्भीर छ," उनले भने ।

लामो समयदेखि वर्षा नहुनुका कारण मधेशका अधिकांश क्षेत्र खडेरीको चपेटामा छन् । साउन सुरु भइसक्दासमेत वर्षा नहुँदा कृषकहरूले धान रोप्न पाएका छैनन् । खेतमा पानी नपुगेकाले धानको बिउ सुक्न थालेको र कृषि उत्पादनमा गम्भीर असर पर्ने खतरा बढेको छ ।

यसैबीच, सिके राउत नेतृत्वको जनमत पार्टीले मधेशलाई ‘सुख्खा क्षेत्र’ घोषणा गर्न माग गरेको छ । पार्टीले विज्ञप्ति जारी गर्दै मधेशमा भइरहेको खडेरी र त्यसबाट उत्पन्न समस्यालाई दृष्टिगत गर्दै तत्काल राहत तथा दीर्घकालीन समाधानका लागि संघीय सरकारलाई आग्रह गरेको छ ।

जनजीवन कष्टकर बन्दै गएको बेला सरकारले दमकलमार्फत सुरु गरेको पानी वितरणलाई राहतको रूपमा हेरिएको छ । तर दीर्घकालीन रूपमा पानी व्यवस्थापन, सिंचाइको सुविधा र वर्षा संरक्षण योजनाहरू अघि बढाउनुपर्ने स्थानीयवासी र विज्ञहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्