छानविनका लागि मार्ग सहज गर्दै मन्त्री गुप्ताको राजीनामा

सम्वादाता | २०८२ असार ३१ गते १२: १८ मा प्रकाशित
वीरगञ्ज, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बहुचर्चित घुस प्रकरणमा नाम जोडिएपछि पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ताले मङ्गलवार सामाजिक सञ्जालमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
गत सोमबार बिहान प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाई राजीनामा दिन निर्देशन दिएका थिए । त्यसको भोलिपल्ट गुप्ताले सामाजिक सञ्जालमार्फत सार्वजनिक पोस्ट गर्दै आफ्नो नाम अनावश्यक रुपमा घुस प्रकरणसँग जोडिएको भन्दै सत्यतथ्य छानबिनको लागि राजीनामा दिएको जनाएका हुन् ।
गुप्ताले पोस्टमा लेखेका छन्, “विगत केही दिनदेखि मेरो नाम घुस डिलसँग जोडेर प्रचारमा आएको कुरा सबैलाई विदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ, म अहिले त्यसैको सिकार भएँ ।” उनले आफूमाथि लगाइएका अडिओ प्रमाण प्रविधिको दुरुपयोग — विशेषगरी एआई (कृत्रिम बुद्धिमत्ता) प्रयोग गरी बनाइएको दाबी गर्दै सत्य बाहिर ल्याउन आफू पूर्ण रूपमा सहकार्य गर्न तयार रहेको जनाएका छन् ।
मन्त्री गुप्ता करिब १६ मिनेट लामो तथाकथित अडिओमा एक महिला र बिचौलियासँग मालपोत सरुवा रोक्न ५३ लाख र भूमिसम्बन्धी पदका लागि २५ लाख घुस डिलमा संलग्न भएको आरोप लागेपछि विवादमा परेका थिए ।  असार १० गते निज विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दर्ता गरिएको थियो, जसमा दुई झोला भरिएको भनिएको घुस रकम, नोटका बन्डल र तिनको नम्बरसहितको तस्बिर समेत समावेश गरिएको छ ।
अडिओमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीको नामसमेत मुछिएको छ, जसले घटनालाई थप जटिल बनाएको छ । मन्त्री अधिकारीले भने आफूमाथि लगाइएका आरोपहरू पूर्णतः आधारहीन भएको दाबी गरेका छन् ।
घटनाले सरकारको सुशासनको प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ । गुप्ताको राजीनामाले तत्कालीन दबाब त घटाएको छ, तर सत्तारूढ दलभित्रको पारदर्शिता र जवाफदेहिता बारे पुनः बहस चर्किएको छ ।
राजनीतिक विश्लेषकहरूका अनुसार गुप्ताको राजीनामा घुस प्रकरण बारे सत्य बाहिर ल्याउन गरिएको हो । प्रविधीको दूरुपयोग बढेसंगै यसबाट माथिल्लो ओहदामा रहेका व्यक्तित्व समेत प्रभावित हुनुले यसबारे छानविन आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्