आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती वीरगञ्जमा भव्यतासाथ सम्पन्न

साहित्यकार तथा पत्रकार सम्मानित

सम्वादाता | २०८२ असार २९ गते ०१: ५० मा प्रकाशित

वीरगञ्ज नारायणी वाङ्गमय प्रतिष्ठान, वीरगञ्ज पर्साको आयोजनामा नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा सम्पन्न गरिएको छ।

कार्यक्रमको सुरुवात वीरगञ्ज बसपार्कस्थित भानुभक्त आचार्यको शालिकमा माल्यार्पण गरेर गरिएको थियो। त्यसपछि वीरगञ्ज पब्लिक कलेजको नयाँ भवनमा आयोजित विशेष समारोहमा वाङ्गमय सम्मान, पुरस्कार वितरण र कवि गोष्ठीको आयोजना गरियो।

समारोह नारायणी वाङ्गमय प्रतिष्ठानकी अध्यक्ष कविता खडकाको अध्यक्षतामा सम्पन्न भयो। प्रमुख अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका नगर प्रमुख राजेशमान सिंह उपस्थित थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरी गौतम, साहित्यकार गणेश लाठ, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, केसि लामिछाने, मधेस प्रदेश महासंघका श्याम बन्जारा, मानवसेवा आश्रमका संस्थापक सदस्य देवेश गुप्ता, रामनारायण कुर्मी, सुशिला शाह, सलमा खातुन लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि मेयर सिंहले आदिकवि भानुभक्त आचार्यलाई नेपाली भाषा र साहित्यका शिल्पी तथा राष्ट्रिय पहिचानका मेरुदण्डको रूपमा स्मरण गरे। उनले भने, "आजको दिन हामी नेपालीले भाषा, साहित्य र संस्कृतिप्रतिको कर्तव्य सम्झनुपर्ने दिन हो। वीरगञ्ज जस्तो विविधतायुक्त शहरमा यस्ता साहित्यिक गतिविधि हुनु सहरको सांस्कृतिक जागरुकता र सशक्त साहित्यिक उपस्थिति दर्शाउने प्रमाण हो।"

सो अवसरमा वीरगञ्जका वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मालाई दोसल्ला र प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो। साथै, साहित्यकार गणेश लाठ र रामप्रसाद अधिकारीलाई दोसल्ला, प्रशंसा पत्र र नगद १२,५०० रुपैयाँसहित सम्मान प्रदान गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य नारायणी वाङ्गमय प्रतिष्ठानका सदस्य सुर्यानारायण विकले राखेका थिए भने कार्यक्रम सञ्चालन गीता भण्डारीले गरेकी थिइन्।

गौतम माध्यमिक विद्यालय, नवदिप एकेडेमी र सिद्धार्थ माध्यमिक विद्यालयका विद्यार्थीहरूले सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतीमार्फत अतिथिहरूलाई स्वागत गरेका थिए।

कार्यक्रममा वीरगञ्जका विभिन्न मिडिया प्रतिनिधिहरू, साहित्यप्रेमी, विद्यार्थी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्