मन्त्री प्रदीप यादवको सक्रियतामा ५० भन्दा बढी स्थानमा डिप बोरिङ कार्य सुरु

वीरगंजमा पानी संकट समाधानतर्फ तेज गति

सम्वादाता | २०८२ असार २८ गते ०५: ३६ मा प्रकाशित
तस्वीर साभार: मिसन खोज

वीरगंज : वीरगंज महानगरपालिका तथा आसपासका क्षेत्रहरूमा देखिएको गम्भीर पानी संकटको समाधानका लागि संघीय खानेपानी मन्त्री प्रदीप यादवको सक्रियतामा तीव्र गतिमा डिप बोरिङ जडान कार्य अघि बढाइएको छ।

मन्त्री यादवले तीन दिनअघि वीरगंजको संकटग्रस्त क्षेत्रको स्थलगत निरीक्षण तथा जनप्रतिनिधिहरूसँग अन्तरक्रिया गर्दै दुईदेखि तीन दिनभित्र पानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए। उनको सो प्रतिवद्धताअनुसार हालसम्म ५० भन्दा बढी स्थानमा डिप बोरिङ जडान कार्य सुरु भइसकेको छ।

पर्साको वीरगंज महानगरपालिका वडा नम्बर ११ को विद्यापति टोल, वडा नं. १३ राधेमाई, वडा नं. १४ बौधीमाई, वडा नं. २१ को परवानीपुर तत्वाटोल, कोरिया टोल तथा वडा नं. २४ रामगढवा मनमोहन टोल लगायतका क्षेत्रमा डिप बोरिङ जडान भई पाइपलाइनमार्फत खानेपानी वितरणको कार्य अन्तिम चरणमा पुगेको मन्त्रीका स्वकीय सचिव हरेन्द्र साहले जानकारी दिए।

उनका अनुसार बाँकी क्षेत्रहरूको पनि अध्ययन तथा अवलोकन कार्य जारी छ। मन्त्री यादव स्वयं बस्ती–बस्तीमा पुगेर समस्याको अवलोकन गरी तत्काल समाधानको पहल गरिरहेका छन्।

स्थानीय बासिन्दाहरू मन्त्रीको तत्काल सक्रियता र प्रत्यक्ष संलग्नताबाट उत्साहित छन्। विद्यापति टोलका युवा सुनिल महतोले भने, “जनताको दुःखसुखमा सिधा जोडिन सक्ने मन्त्री हुनुहुन्छ यादवजी, उहाँको प्रयासले अहिले राहत मिलेको छ।”

रामगढवा मनमोहन टोलकी मिरा देवी कुर्मीले मन्त्री आएपछि तुरुन्तै काम सुरु भएको भन्दै आभार प्रकट गरिन्। उनले सिर्सिया नदी सफाइमा समेत मन्त्री, मेयर, वडा अध्यक्ष र स्थानीय जनताको समुहिक सक्रियता आवश्यक रहेको उल्लेख गरिन्।

मन्त्री यादवले असार मसान्तभित्र खानेपानी संस्थानको पाइपलाइन नपुगेका १०० भन्दा बढी स्थानमा डिप बोरिङ जडान गरिने जानकारी दिएका छन्। साथै, थप ४०–५० स्थानमा पनि जडानका लागि निर्देशन दिइसकेको उल्लेख गरेका छन्।

“कुनै पनि नेपाली नागरिकलाई खानेपानीको अभावमा राख्ने छैनौं,” मन्त्री यादवले प्रतिबद्धता जनाउँदै भने, “वीरगंज मात्र होइन, पर्सा लगायत अन्य पालिकामा पनि हामी गम्भीरताका साथ काम गरिरहेका छौं।”

पानी जस्तो अत्यावश्यक सेवाको अभावले त्रस्त बनेका वीरगंजवासीहरूका लागि मन्त्री यादवको सक्रियता आशाजनक बनेको छ। दीर्घकालीन समाधानका लागि ठूला परियोजनाहरूको नीति निर्माण र तत्काल राहतका लागि डिप बोरिङ, ट्यांकरमार्फत आपूर्तिको संयोजनले समस्या समाधानतर्फको सरकारको स्पष्ट कदम देखिएको स्थानीयहरूको प्रतिक्रिया छ।

प्रतिक्रिया दिनुहोस्