मधेस प्रदेशसभा बैठक कार्यदल विवादमा अवरुद्ध, सभामुखको राजीनामा घोषणा

सम्वादाता | २०८२ असार २८ गते ०४: २२ मा प्रकाशित

जनकपुरधाम, मधेस प्रदेशसभाको आजको बैठक कार्यदल गठनको विषयलाई लिएर फेरि अवरुद्ध भएको छ। बजेट छानबिनका लागि गठन गरिएको कार्यदलमा मन्त्रीको नाम समावेश गरिएपछि प्रतिपक्षी दलका सांसदहरूले कडा आपत्ति जनाउँदै सदन अवरुद्ध गरेका हुन्।

सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा बजेट अनियमितता छानबिन गर्न कार्यदल गठन गरिएको थियो। तर, सो कार्यदलमा मन्त्रीको नाम राखिएको भन्दै प्रतिपक्षी दलहरूले त्यसको विरोध जनाउँदै बैठक अवरुद्ध गरेपछि सभामुखले बैठक १० मिनेटका लागि स्थगित गरेका थिए।

स्थगनपछि बैठक पुनः सुरु हुँदा सभामुख मण्डलले कार्यदलको संयोजक पदबाट राजीनामा दिएको जानकारी सदनलाई गराए। उनले समय अभावका कारण उक्त पदमा रहन नसक्ने बताए। तर, मन्त्रीको नाम हटाउने विषयमा स्पष्ट धारणा नआएपछि प्रतिपक्षी सांसदहरू अझ आक्रोशित बने।

माओवादी केन्द्रका सांसद युवराज भट्टराईले कार्यदल गठनको प्रक्रियामा प्रतिपक्षीको सहमति रहेको तर त्यसमा मन्त्रीको नाम राखिएकोप्रति आपत्ति जनाए। उनले भने, “मुख्यमन्त्रीले मन्त्रीको नाम नराख्ने प्रतिवद्धता जनाएका थिए, तर त्यसको उल्लंघन भयो। त्यसैले हामी विरोध गर्न बाध्य भएका हौं।”

सभामुखले बजेटसँग सम्बन्धित आर्थिक विधेयकमाथि छलफल सम्पन्न गर्न अर्थमन्त्री सुनिलकुमार यादवलाई रोष्टममा बोलाए पनि प्रतिपक्षी सांसदहरूले रोष्टम घेराउ गरेपछि मन्त्रीले बोल्न पाएनन्।

संसदमा पटक–पटकको अवरोधका कारण बजेटसँग सम्बन्धित कार्यहरू प्रभावित भइरहेका छन्। प्रतिपक्षी दलहरूले मन्त्रीको नाम कार्यदलबाट नहटाएसम्म सदन चल्न नदिने अडान दोहोर्‍याएका छन्।

यस घटनाले मधेस प्रदेशमा सत्तारूढ गठबन्धन र प्रतिपक्षी दलबीचको सम्बन्ध थप चिसिएको देखिएको छ। अब समाधानका लागि संवाद र सहमतिको बाटो खोजिने कि सदन अझै अस्तव्यस्त रहन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको छ।

प्रतिक्रिया दिनुहोस्