पानी संकटमा समाजसेवी अजय गुप्ताको मानवीय पहल

निरन्तर पानी वितरण

सम्वादाता | २०८२ असार २८ गते ०२: ५२ मा प्रकाशित
वीरगञ्ज । वीरगंज महानगरपालिका तथा आसपासका क्षेत्रमा चापाकल सुकेर उत्पन्न भएको गम्भीर पानी संकटबीच समाजसेवी अजय कुमार गुप्ताले निरन्तर निःशुल्क रुपमा पानी वितरणको कार्य निरन्तर जारी राखेका छन् ।
महानगरपालिका वडा नम्बर १० का वडाध्यक्ष पदका उम्मेदवारसमेत रहेका गुप्ताले सखुवा प्रसौनी गाउँपालिकाबाट वारुण यन्त्र (दमकल) मार्फत पानी ल्याई ट्याङ्कीमा भरेर वडाभित्रका स्थानीय बासिन्दाहरुलाई घरघरमै पुगेर पानी वितरण गर्दै आएका छन् ।
“कोही पनि प्यासै बस्न नपरोस् भन्ने सोचले यो कार्य सुरु गरेको हुँ,” गुप्ताले बताए, “संकटकालीन समयमा सानो सहयोगले पनि ठूलो राहत दिन सक्छ भन्ने विश्वासले यो अभियान थालेको हुँ ।”
पानीको चरम अभाव झेलिरहेका स्थानीयहरूका लागि गुप्ताको यो सेवा जीवन रक्षक बनेको छ । वीरगंजमा पछिल्ला केही महिनादेखि चापाकल सुकेर पानी नआउने समस्या गहिरिँदै जाँदा, सार्वजनिक तथा निजी स्रोतहरू समेत बन्द भएका छन् ।
यसै सन्दर्भमा समाजसेवी गुप्ताको पहलमा सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले दमकल उपलब्ध गराई सहयोग पुर्याएका छन् । यादवले मानवीयताको दृष्टिले यस्तो कार्यमा साथ दिन पाउँदा गर्व लागेको प्रतिक्रिया दिएका छन् ।
गुप्ता आफैं टोलटोलमा पुगेर घरदैलोमै पानी पुर्याइरहेका छन्, जसले गर्दा सेवा सबै वर्ग र समुदायसम्म निष्पक्षरूपमा पुगेको छ । पानी वितरणमा केही वडाहरूमा पक्षपातको गुनासो भइरहेका बेला गुप्ताले आम नागरिकलाई प्राथमिकतामा राखेर सेवा पु¥याउनु उल्लेखनीय भएको स्थानीयहरू बताउँछन् । 
स्थानीय बासिन्दाहरूले गुप्ताको यो कार्यलाई “जीवनदायिनी सेवा” भन्दै प्रशंसा गरेका छन् । सामाजिक सञ्जालमा समेत उनलाई धन्यवाद तथा समर्थन जनाउनेहरूको संख्या दिनप्रतिदिन बढ्दो छ । यसरी आफ्नो वडा बाहेकका वडाहरुमा समेत गुप्ता उदाहरणका पात्र बनेका छन् । समाजसेवी गुप्ताले यो सेवा पानी संकट समाधान नभएसम्म निरन्तर जारी राख्ने प्रतिबद्धता जनाएका छन् ।
साथै पछिल्लो समय कोरोना कालमा गुप्ताले समाजसेवा मार्फत कोरोना संक्रमितहरुलाई पु¥याएको योगदान स्मरणीय रहेको स्थानियवासी सम्झन्छन् ।

 

प्रतिक्रिया दिनुहोस्