मास्कट एकेडेमीमा गुरुपूर्णिमा विशेष कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ असार २७ गते ०३: ४३ मा प्रकाशित

वीरगञ्ज, – वीरगञ्ज महानगरपालिका वडा नं. ५ स्थित कुम्हालटोलको मास्कट एकेडेमीमा गुरुपूर्णिमाको पावन अवसरमा एक भव्य र सभ्य कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूबीच आपसी सम्मान, श्रद्धा र संस्कार झल्किने विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो।

विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यालयका सञ्चालक विजय साहको विशेष उपस्थिति रहेको थियो। उनले गुरुपूर्णिमाको सांस्कृतिक महत्वमाथि प्रकाश पार्दै शिक्षकहरूलाई राष्ट्र निर्माणका आधार स्तम्भको रूपमा व्याख्या गरे। "गुरू बिना ज्ञान सम्भव छैन, र ज्ञान बिना समाजको विकास अधूरो हुन्छ," उनले भने।

कार्यक्रमको मुख्य आकर्षण गुरुपूर्णिमा प्रतीकस्वरूप केक काट्ने विशेष क्षण रहेको थियो। सो अवसरमा विद्यार्थीहरूले शिक्षकप्रति कृतज्ञता प्रकट गर्दै विविध नृत्य, कविता, गीत तथा भावनात्मक मन्तव्य प्रस्तुत गरेका थिए।

विद्यालयकी प्रमुख शिक्षिकाले कार्यक्रमको उद्घाटन मन्तव्य दिँदै शिक्षक–विद्यार्थी सम्बन्धको गहिरो महत्वबारे प्रकाश पारिन्। अन्त्यमा शिक्षकहरूले विद्यार्थीहरूको प्रयासको प्रशंसा गर्दै उनीहरूलाई जीवनमा उच्च आदर्श र नैतिक मूल्यहरू अवलम्बन गर्न प्रेरणा प्रदान गरे।

विद्यालय प्रशासनका अनुसार यस्तो प्रकारको कार्यक्रमले विद्यार्थीहरूमा संस्कार, सम्मान र समर्पणको भावना विकास गर्ने विश्वास लिएको छ।

प्रतिक्रिया दिनुहोस्