खानेपानी आपूर्तिमा सुधारका लागि मन्त्री प्रदीप यादवको छड्के निरीक्षण

वीरगञ्जमा प्रभावकारी सेवा प्रवाहको प्रतिबद्धता

सम्वादाता | २०८२ असार २६ गते ०३: ५८ मा प्रकाशित

वीरगञ्ज — संघीय सरकारका खानेपानी तथा सिँचाइ मन्त्री प्रदीप यादवले वीरगञ्जस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा छड्के निरीक्षण गर्दै सेवा प्रवाहको अवस्था र कर्मचारीहरूको कार्यदायित्वबारे समीक्षात्मक अनुगमन गरेका छन्।

निरीक्षणका क्रममा मन्त्री यादवले जनताको जीवनसँग प्रत्यक्ष जोडिएको खानेपानी सेवा प्रभावकारी, नियमित र जिम्मेवार बनाइनुपर्नेमा विशेष जोड दिए। उनले संस्थानका कर्मचारीहरूलाई जनसेवाप्रति समर्पित भएर काम गर्न निर्देशन दिँदै भने, “जनताको आधारभूत अधिकारका रूपमा सुरक्षित र पर्याप्त खानेपानीको पहुँच सुनिश्चित गर्नु सरकारको प्रमुख दायित्व हो।”

मन्त्री यादवले पछिल्लो समय जलवायु परिवर्तनका कारण विशेषगरी तराई–मधेस क्षेत्र र वीरगञ्ज महानगरपालिका क्षेत्रमा देखा परेको पानीको अभावप्रति चिन्ता व्यक्त गर्दै, तत्काल सुधारात्मक कदम चाल्न तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वयमा काम गर्न संस्थानलाई निर्देशन दिए।

“सबै तहका सरकारी संयन्त्रहरू सजग, उत्तरदायी र परिणाममुखी बन्नुपर्ने बेला आएको छ,” उनले भने। मन्त्री यादवले खानेपानी मन्त्रालय सधैं आवश्यक सहयोगका लागि तयार रहेको उल्लेख गर्दै सम्बन्धित निकायलाई मन्त्रालयसँग समन्वयमा रहन आग्रह गरे।

उनको यो आकस्मिक निरीक्षणले वीरगञ्ज मात्र नभई समग्र मधेस क्षेत्रमा खानेपानी व्यवस्थापनको गुणस्तर सुधार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्