रसुवामा बाढीले १८ जना बेपत्ता, मितेरी पुल बगायो

सम्वादाता | २०८२ असार २४ गते ०१: ५० मा प्रकाशित

काठमाडौं — रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा आज बिहान आएको बाढीले १८ जना नेपाली र चिनियाँ नागरिक बेपत्ता भएका छन्।

सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार रसुवागढी नाकामा काम गर्ने ९ नेपाली, इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत ३ प्रहरी र ६ जना चिनियाँ नागरिक बेपत्ता भएका हुन्।

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल समेत बगाएको छ।

बाढीमा परी बेपत्ता हुनेमा रामेछापका प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, बाराका प्रहरी जवान मुन्ना ठाकुर, बझाङका प्रहरी जवान लोकेन्द्र बोहोरा लगायत छन्। चिनियाँ नागरिकको विस्तृत परिचय खुल्न बाँकी छ।

त्यसैगरी बर्दियाका पाँच जना र बागलुङ, सिन्धुपाल्चोकका चार जना समेत बेपत्ता छन्।

बाढीले सडकखण्डमा पर्ने ‘बेलीब्रिज’ बगाएको छ भने नयाँ पक्की पुलमा लेदो र माटो जमेको छ। त्रिशूली थ्री जलविद्युत आयोजनाको बाँधमा समेत क्षति पुगेको छ।

बिहान उद्धारमा संलग्न केही स्थानीय कामदार र सुरक्षाकर्मीलाई सुरक्षित उद्धार गरिएको छ।

सशस्त्र प्रहरी निरीक्षक रवीन्द्र दाहालको नेतृत्वमा २० जनाको उद्धार टोली घटनास्थल तर्फ गएको छ तर सडक अवरुद्ध भएका कारण उद्धारमा समस्या आइरहेको छ।

पासाङल्हामु राजमार्गको स्याफ्रुबेंसी–रसुवागढी सडकखण्ड अहिले पहिरो र सडक कटानका कारण पूर्णरुपमा अवरुद्ध छ।

सरकार र सुरक्षा निकायहरूले उद्धार कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्।

प्रतिक्रिया दिनुहोस्