प्रतिबन्धित लागूऔषधसहित एक युवक पक्राउ

सम्वादाता | २०८२ असार २४ गते ११: ३१ मा प्रकाशित
बारा । बारा प्रहरीले बारामा ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ७ का करिब २० वर्षीय सेराज अंसारी रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी सहायक निरीक्षक नन्द किशोर सिंहको नेतृत्वमा खटिएको टोलीले सोमबार साँझ कलैया उपमहानगरपालिका–५ अन्तर्गत भरत चौक नजिक मटिअर्वातर्फ जाने बाटोको छेउबाट अंसारीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, शंकास्पद रूपमा दुई वटा क्यारेट लिएर उभिएका युवकबारे सूचनाका आधारमा निगरानी गरिएको थियो । प्रहरी टोली देखेपछि उनी भाग्न प्रयास गरे पनि तत्काल नियन्त्रणमा लिइएको थियो ।
पक्राउपछिको खानतलासीमा क्यारेटभित्र माथिल्लो भागमा आँप राखिएको र तल्लो भागमा लुकाएर राखिएको अवस्थामा ४ हजार ५ सय थान लागूऔषध फेला परेको हो । बरामद औषधिमा नोफिन १५ सय पिस, फेनारगन १५ सय पिस र डाइजोपाम १५ सय पिस रहेको छ ।
प्रहरीले अंसारीलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाएको जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्