नेकपा एमाले वीरगञ्ज वडा नं. २५ मा भेला सम्पन्न

वीरगञ्ज, – नेकपा एमाले वीरगञ्ज महानगर कमिटी अन्तर्गत वडा नं. २५ मा हिजो आइतबार भेला सम्पन्न भएको छ। पार्टी संगठन सुदृढीकरण, जनसम्पर्क विस्तार र मिशन २०८४ लाई सफल बनाउने लक्ष्यसहित आयोजित भेलामा पार्टीका शीर्ष नेता तथा स्थानीय कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

भेलाका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटीका सदस्य तथा वीरगञ्जका पूर्व मेयर विजय सरावगीले मिशन २०८४ लाई सफल बनाउन टोलदेखि जिल्ला तहसम्म जनतालाई पार्टीमा आवद्ध गराउँदै लैजानुपर्नेमा जोड दिए। उनले जनताको समस्या समाधानका लागि एमाले सधैं अग्रपंक्तिमा रहेको उल्लेख गर्दै पार्टीप्रति आकर्षण हुने कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउँदै अघि बढ्न सम्पूर्ण कार्यकर्तालाई आह्वान गरे।

विशिष्ट अतिथि तथा नेकपा एमाले वीरगञ्ज महानगर अध्यक्ष नवराज शर्माले नगरका हरेक टोलमा पार्टी कमिटी विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै पार्टीलाई विधिवत रूपमा जनतामा स्थापित गराउन आफू निरन्तर सक्रिय रहेको बताए। उनले आगामी निर्वाचनमा एमालेका उम्मेदवारहरूलाई जिताउन योजनाबद्ध ढंगले अघि बढ्ने जानकारी समेत दिए।

भेलामा एमाले मधेश प्रदेशका नेता मेघराज पासवान, नगर सचिव लियाकत अली, नगर सदस्य प्रकाश तिवारी, शशिकला देवी, वडा नं. २५ का पूर्व अध्यक्ष विषराज पटेल लगायतको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी नेताहरूले संगठनलाई अझ सुदृढ बनाउँदै जनताको पक्षमा निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरेका थिए।

नेकपा एमाले वडा नं. २५ का अध्यक्ष सञ्जय पटेलको अध्यक्षतामा सम्पन्न भेला कार्यक्रमबारे जिल्ला सचिव लियाकतले प्रकाश पारेका थिए । कार्यक्रम अशोक चौधरीले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्