स्वास्थ्य कार्यालय प्रमुखको अभद्र व्यवहारविरुद्ध प्रेस चौतारी नेपालको विरोध

पर्सा – स्वास्थ्य कार्यालय पर्साका प्रमुख जयमोहन ठाकुरद्वारा बीरगञ्जका पत्रकारहरूमाथि गरिएको दुर्व्यवहारको घटनाप्रति प्रेस चौतारी नेपाल पर्सा शाखाले गम्भीर ध्यानाकर्षण गराउँदै कडा विरोध जनाएको छ।

२०७८ साल असार २२ गते बुधवार स्वास्थ्य कार्यालय पर्सामा पत्रकारहरूले समाचार संकलन गर्ने क्रममा प्रमुख ठाकुरले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि आँच आउने गरी असभ्य र अव्यवसायिक व्यवहार देखाएको घटनाप्रति प्रेस चौतारी नेपाल पर्साले आपत्ति जनाएको हो।

प्रेस चौतारी नेपाल पर्सा शाखाद्वारा जारी गरिएको विज्ञप्तिमा घटनाको छानबिन गरी दोषीमाथि कारबाहीको माग गरिएको छ। साथै, यस्ता घटना दोहोरिन नदिन सम्बन्धित निकायलाई आवश्यक कदम चाल्न आग्रह गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, "स्वास्थ्य कार्यालय प्रमुख जयमोहन ठाकुरले पत्रकारहरूमाथि प्रयोग गरेको भाषा, व्यवहार र अवरोधले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक मूल्य मान्यतालाई नै चुनौती दिएको छ।"

संघका सचिव कृष्णा कुष्णाहा द्वारा जारी विज्ञप्तिमा घटनाप्रति खेद व्यक्त गर्दै पत्रकारहरुको पेशागत स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

प्रतिक्रिया दिनुहोस्