वीरगञ्जमा पत्रकारमाथि दुर्व्यवहार, पत्रकार महासंघ पर्साको कडा आपत्ति

सम्वादाता | २०८२ असार २३ गते ०१: ४७ मा प्रकाशित

वीरगञ्ज, : पर्सा जिल्ला स्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरले वीरगञ्जका पत्रकारहरूमाथि गरेको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर आपत्ति जनाएको छ। महासंघले उक्त घटनालाई प्रेस स्वतन्त्रतामाथिको सीधा आक्रमण भन्दै तुरुन्त दोषीमाथि कानूनी कारबाहीको माग गरेको छ।

महासंघका सचिव विजय महतोद्वारा सोमबार जारी गरिएको प्रेस विज्ञप्तिअनुसार, पत्रकार आरोहणकुमार साह, राजु बैठा, राकेश कुमार साह, सन्तोषकुमार कुशवाह, अर्जुन चौधरी र आनन्दकुमार पटेलमाथि अधिकृत ठाकुरले अपशब्द प्रयोग गर्दै गालीगलौज र दुर्व्यवहार गरेका थिए।

विज्ञप्तिमा घटनालाई “अत्यन्त आपत्तिजनक” भन्दै लोकतान्त्रिक प्रणालीभित्र स्वतन्त्र प्रेसप्रति देखिएको गैरजिम्मेवार र निरंकुश व्यवहारको निन्दा गरिएको छ। महासंघले दोषी कर्मचारीमाथि तत्काल कानूनी कारबाही गर्न जिल्ला प्रशासन र प्रहरी निकायको गम्भीर ध्यानाकर्षण गराएको छ।

“पत्रकारमाथि दुर्व्यवहार गर्ने व्यक्तिमाथि यदि तत्काल कारबाही नहुने हो भने नेपाल पत्रकार महासंघ, पर्सा शाखा संघर्षको कडा रूप अपनाउन बाध्य हुनेछ,” विज्ञप्तिमा चेतावनी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्