नेशनल इन्फोटेक कलेजलाई “उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२”

तस्वीर: साभार
वीरगञ्ज । वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले शैक्षिक क्षेत्रको उत्कृष्ट योगदानका लागि “उत्कृष्ट शैक्षिक संस्था सम्मान–२०८२” प्राप्त गरेको छ । कलेजलाई यो सम्मान शनिबार काठमाडौंमा आयोजित एक राष्ट्रिय कार्यक्रममार्फत प्रदान गरिएको हो ।
चन्द्रलोक प्रतिष्ठानको आयोजनामा नेपाल पर्यटन बोर्ड, काठमाडौंमा सम्पन्न कार्यक्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको हातबाट कलेजका प्रतिनिधि अमरेश सिंहले सम्मानपत्र ग्रहण गरेका थिए ।
नेशनल इन्फोटेक कलेजले स्थापना कालदेखि नै गुणस्तरीय र व्यावहारिक शिक्षण, प्राविधिक सीप विकास, र विद्यार्थीको सर्वाङ्गीण विकासमा निरन्तर योगदान पु¥याउँदै आएको छ । संस्थापक निर्देशक मनिष सिंहका अनुसार, “सूचना प्रविधि, व्यवस्थापन लगायत समसामयिक विषयहरूमा आधुनिक शिक्षण पद्धति अपनाएर कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिरहेको छ ।”
कलेजले विशेषगरी मधेस प्रदेशमा शैक्षिक जागरण र प्राविधिक शिक्षाको प्रवद्र्धनमा उदाहरणीय भूमिका खेलेको छ । यहाँबाट उत्पादन हुने जनशक्तिको बजारमा उच्च माग रहेको बताइएको छ ।
कार्यक्रममा चन्द्रलोक प्रतिष्ठानका अध्यक्ष सिताराम कार्कीले सातै प्रदेशका उत्कृष्ट शैक्षिक संस्थाहरूलाई समेत सम्मान गरिएको जानकारी दिए । उनले भने, “हाम्रो उद्देश्य शिक्षा र सामाजिक क्षेत्रमा उत्कृष्ट काम गर्ने संस्थाहरूलाई प्रोत्साहन गर्नु हो ।”
सामाजिक सेवामा क्रियाशील मुनाफारहित संस्था चन्द्रलोक प्रतिष्ठानले अपाङ्गता भएका व्यक्तिहरूलाई ह्वीलचेयर वितरण, अनाथ तथा असहायहरूलाई राहत वितरण, र सामाजिक जागरण लगायतका कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।
नेशनल इन्फोटेक कलेजले समेत मोफसलमा शैक्षिक क्षेत्रका अतिरिक्त सामाजिक उत्तरदायित्व, खेलकुद, र सांस्कृतिक गतिविधिहरूमा पनि सक्रियता देखाउँदै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्