सपना साकार गर्ने सङ्कल्प: गौतम स्कूलमा सप्ताहान्त विशेष कार्यक्रम सम्पन्न

सम्वादाता | २०८२ असार २१ गते ०३: ०९ मा प्रकाशित

बीरगञ्ज, : गौतम स्कूल, बीरगञ्जमा गत सप्ताहान्त कक्षा १० का विद्यार्थीहरूका लागि विशेष प्रेरणादायी कार्यक्रम सम्पन्न भएको छ। "सङ्कल्प र प्रतिबद्धताबाट सपनाहरू साकार हुन्छन्" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लोक सेवा तयारी संस्थाका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अशोक शाहको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा शाहले विद्यार्थीहरूलाई लोक सेवा आयोग अन्तर्गत सञ्चालन हुने परीक्षाहरूको तयारीबारे महत्वपूर्ण जानकारी दिएका थिए। उनले लोक सेवा यात्रा सजिलो नभए तापनि सही सोच, समयमै तयारी, र दृढ आत्मविश्वासले सफलता सम्भव हुने धारणा राखे।

"सुरु चाँडै गरौं, लक्ष्य ठूलो राखौं" भन्ने सन्देशमार्फत उनले विद्यार्थीहरूलाई अहिलेबाटै आफ्नो लक्ष्य निर्धारण गर्न र त्यसतर्फ केन्द्रित हुन प्रेरित गरे। उनले तयारीका चरण, मानसिक बल, र उपलब्ध स्रोतहरूको सदुपयोगबारे पनि विस्तृत जानकारी प्रस्तुत गरे।

विद्यार्थीहरूले कार्यक्रममा खुलेर आफ्ना जिज्ञासा राखेका थिए र शाहले सबै प्रश्नहरूलाई सरल, व्यावहारिक र प्रेरणादायी तरिकाले उत्तर दिएका थिए। यस संवादात्मक सेसनले विद्यार्थीहरूमा आत्मविश्वास थप बलियो बनाएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा विद्यालयका शिक्षक सौराज प्रधानको पनि विशेष उपस्थिति रहेको थियो। विद्यालय प्रशासनले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको समग्र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै भविष्यमा अझ यस्ता अवसरहरू प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।

गौतम स्कूल परिवारले अशोक शाहप्रति विशेष आभार व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्