समाचारले हल्लायो भन्सार : न्यूट्रिका सञ्चालक भन्सार उपस्थित, बुझाए ९ लाख ६० हजार

सम्वादाता | २०८२ असार १ गते ०२: ५३ मा प्रकाशित

बीरगञ्ज — बीरगञ्ज नाकाबाट प्रतिबन्धित औषधिसहित अटो समातिएपछि खुलेको तस्करी प्रकरणले नयाँ मोड लिएको छ । घटनाका प्रारम्भिक संलग्नहरू पक्राउ परेपनि मुख्य योजनाकार भने अझै फरार छन् । सार्वजनिक भएका विवरणहरूका आधारमा यो प्रकरणमा निजी कम्पनी, न्यूट्रिका फुड कन्सर्नका सञ्चालकसमेत मुछिएका छन् ।
    बैशाख १२ गते, बीरगञ्ज नाकाबाट चलिरहेको एक अटोमा सुरक्षा निकायले औषधिको संख्यात्मक जाँच गर्दा अनुमति बिना ल्याइएका प्रतिबन्धित औषधिहरू फेला पारे । औषधिहरू कुनै औपचारिक कागजातविना ल्याइएको पाइएपछि प्रहरीले अटो चालक बीरगञ्ज महानगरपालिका वडा नं. २५ का अमृत साह कानुलाई नियन्त्रणमा लियो ।
    अटो चालकको प्रारम्भिक बयानको आधारमा औषधिहरू कसले उपलब्ध गराएको भन्ने अनुसन्धान अघि बढाइयो । सोही क्रममा मंजु पटेल नाम भएका एक जना भरिया (सामान ओसारपसार गर्ने व्यक्ति) पक्राउ परे । उनले पक्राउपछिको बयानमा एक जना अर्को तस्करको बीरगञ्जको इन्र्वा निवासी अनिल महतोको नाम खुलाए । उक्त नाम भन्सार प्रशासनले ‘मुख्य संलग्न’को रूपमा लिएको छ । तर, ती व्यक्ति हालसम्म फरार छन् ।
    प्रकरणमा संलग्न औषधिहरू न्यूट्रिका फुड कन्सर्न नामक कम्पनीमार्फत ल्याइएको आशंका भएपछि कम्पनीका सञ्चालकको खोजी थालियो । सुरुमा उनी अनुसन्धानमा सहयोग गर्न नआएको भन्सार स्रोतले जनाएको थियो । यद्यपि, यस अनलाइनमा समाचार प्रकाशित भएपछि भन्सार प्रशासन सक्रिय भयो । त्यसपछि सञ्चालक भन्सार कार्यालयमा आफै उपस्थित भएका थिए ।
    भन्सार कार्यालयको कारबाहीपछि न्यूट्रिका फुड कन्सर्नका सञ्चालकले ९ लाख ६० हजार रुपैयाँ धरौटी बुझाएर तारेखमा छुट पाएका छन् । यता, अटो चालक ५५ हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् । सञ्चालक उपस्थित भएकै दिन पक्राउ परेका भरियाले आफ्नो दोश्रो बयानको क्रममा निजको पहिचान गरी सञ्चालक शनिकुमार द्विवेदीलाई आरोपी भनि बयान दिएका थिए । अर्का फरार अनिल महतोका आफन्तले आफूहरुसंग न्यूट्रिकाका सञ्चालकले गरेको अवैध कारोबारको प्रमाण आफूहरुसंग सुक्षित रहेको बताउंदै आवश्यक परे प्रशासन समक्ष पेश गर्ने दावी गरे । फारार महतो पक्राउ नपरेको र भरिया मंजु पटेललाई अनुसन्धानको क्रममा हिरासतमै राखिएको छ ।
    भरियाले बयानमा उल्लेख गरेको नाममा भन्सार प्रशासनले अनुसन्धान अघि बढाइरहे पनि ती व्यक्ति अझै फेला परेका छैनन् । यसले तस्करी प्रकरण अझ गहिरो र संगठित हुनसक्ने आशंका बढाएको छ ।
    यस विषयमा भन्सार तथा प्रहरी दुवै निकाय अनुसन्धानमा छन् । भन्सारले मुद्दा दर्ता गरी थप अनुसन्धान अगाडि बढाइरहेको छ भने प्रहरीले फरार व्यक्तिको खोजीमा सुराकी तंत्र सक्रिय पारेको बताएको छ ।
    सञ्चार माध्यममा समाचार प्रकाशित भएपछि प्रशासनको सक्रियता र धरौटीमा छुट, तस्करी प्रकरणमा नियामक निकायहरूको प्रभावशीलता तथा पारदर्शितामा उठेका प्रश्नहरू यो मुद्दाको मूल केन्द्रमा छन् । बीरगञ्ज जस्तो संवेदनशील नाकाबाट हुने यस्ता तस्करीहरूमा संलग्न ठूला कारोबारीहरूलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासन र सुरक्षा निकायमाथि थप दबाब देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्