अमेरिकाबाट डिपोर्टेड नेपालीहरु : कसैको हात खाली, कसैको हातमा बोरा

सम्वादाता | २०८२ जेठ २७ गते १२: ५८ मा प्रकाशित

काठमाडौं—अमेरिकाबाट डिपोर्ट गरिएका नेपालीहरु बोरा बोकेर फर्किएका छन् । उनीहरु आइतबार मध्यराति बोरा बोकेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएका थिए ।

कतिपय रित्तो हात फर्किएका थिए । अध्यागमन कानुन उल्लंघन गरेको भन्दै अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरु गएराति काठमाडौं फर्किएका थिए । उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत् काठमाडौं ल्याएर छाडेको हो ।

अमेरिकाले पछिल्लोपटक डिपोर्ट गरेका ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली गएराति फर्किएको वरिष्ठ अध्यागमन अधिकृत एवम् त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले जानकारी दिए ।

उनीहरुलाई हत्कडी लगाइएको थियो कि थिएन भन्ने खुलेको छैन । राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लोपटक सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काउने गरेको छ । अमेरिकाले कतिपय देशका नागरिकहरुलाई हतकडी र नेल लगाएर फर्काएका समाचारहरु सार्वजनिक हुने गरेका छन् ।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि सन् २०२५ को जनवरी २० देखि मे महिनाको अवधिमा १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । साभार: योहो खबर

प्रतिक्रिया दिनुहोस्