शंखधर शाख्वः पार्क सर्वसाधारणका लागि खुल्ला

सम्वादाता | २०८२ जेठ २६ गते १२: ०८ मा प्रकाशित

वीरगंज । वीरगञ्ज महानगरपालिका–४ मा अवस्थित चिल्ड्रेन पार्क अब नयाँ नाम, नयाँ रुप र नयाँ सुविधासहित “शंखधर शाख्वः पार्क” को रूपमा हिजोबाट औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
    शनिबार एक विशेष समारोहबीच नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले पार्कको उद्घाटन गर्नु भयो । लामो समयदेखि बन्द रहेको यो पार्क फेरि सर्वसाधारणका लागि खुला भएसँगै नगरवासीमा उत्साह देखिएको छ ।
    यश अघि १९ कट्ठा क्षेत्रफलमा रहेको पार्कलाई अतिक्रमण हटाउँदै विस्तार गरी अहिले करिब २ विघामा फैलाइएको छ । अझै केही अतिक्रमण हटाउन अदालती प्रक्रिया चलिरहेको छ । 
    करिब १ करोड २५ लाख रुपैयाँ खर्च गरेर पार्कको पूर्वाधार निर्माण तथा सौन्दर्यकरण गरिएको छ । अब पार्कमा पानीको फोहोरा, खुला मञ्च, वनभोज स्थल, नृत्य स्थल, टेबल टेनिस कोर्ट, योग स्थल र प्रभात यात्रा गर्न मिल्ने ट्रयाक सहितको सुविधा उपलब्ध छ ।
    यस अघि ‘चिल्ड्रेन पार्क’ भनेर चिनिने यो पार्कको नाम अहिले परिवर्तन गर्दै ऐतिहासिक एवं सामाजिक योगदानका लागि चिनिने शंखधर शाख्वः को नाममा नामाकरण गरिएको हो । चिल्ड्रेन पार्कको उद्घाटन तत्कालिन मेयर विजय सरावगीले गरेका थिए ।
    शाख्वः नेपालमा पहिलोपटक साझा अर्थतन्त्रको अवधारणा ल्याउने समाजसेवीका रूपमा चिनिन्छन् । वीरगञ्ज महानगरपालिकाले शंखधरको योगदानको सम्मानस्वरूप पार्कलाई उहाँको नाममा समर्पण गरेको हो ।
    वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहका अनुसार यो पार्क केवल सौन्दर्यकरणको परियोजना मात्रै नभइ, यो वीरगञ्जवासीको सामूहिक जीवनशैली र सांस्कृतिक पहिचानसँग जोडिएको साझा थलो हो ।
    उहाँले भन्नुभयो, “शंखधर शाख्वः पार्कलाई हामी मनोरञ्जन, स्वास्थ्य र समुदायको मुटु बनाउनेछौं । यसले हाम्रो संस्कृतिलाई सम्मान गर्दै समृद्ध नगर निर्माणको दिशामा योगदान पु¥याउनेछ ।”
    पार्कको चारैतिर सुरक्षाका लागि पर्खाल लगाइएको छ । प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णका अनुसार पार्क हरेक दिन बिहान ६ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुला रहनेछ ।
    लामो समयसम्म पार्क बन्द हुँदा नागरिकले चाँडो खुलाउन आग्रह गरेका थिए । अब यसको पूर्णता पाएपछि सर्वसाधारणले बिहानको हिँडाइदेखि लिएर साँझको शारीरिक क्रियाकलाप, बालबालिकाको खेल, र पारिवारिक वनभोजसमेत यही पार्कमा गर्न सक्नेछन् ।
    शंखधर शाख्वः पार्कको औपचारिक पुनःसञ्चालनसँगै वीरगञ्जमा खुला, हरियाली र व्यवस्थित सार्वजनिक स्थलको अभाव पूर्ति हुने विश्वास गरिएको छ । नगरवासीले यसलाई आफ्नो पार्कझैं संरक्षण र उपयोग गर्ने अपेक्षा नगरपालिकाले राखेको छ ।

प्रतिक्रिया दिनुहोस्