राधेमाईमा कम्पनी छैन, कारोबार करोडौंको ! – न्यूट्रिकाको रहस्यमयी धन्दा

धरौटी तिर्न पनि कामदार ! ठूला व्यापारीहरूको निर्दयी खेल

सम्वादाता | २०८२ जेठ २४ गते १२: ५३ मा प्रकाशित

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका १३ राधेमाई आफ्नो ठेगाना उल्लेख गरेको न्यूट्रिका फूड कन्सर्न अहिले विवादमा तानिएको छ ।
    वैशाख १२ गते औषधी अवैध तरिकाले नेपाल भित्र्याई रहंदा सवारी तथा मालसामान पक्राउ परेपछि चर्चासंगै विवादास्पद देखिएको उक्त कम्पनीको एकपछि अर्को पोल खुल्ने क्रम जारी छ । 
    पक्राउ परेका अटो चालकले तस्करीमा संलग्नकोे नाम वीरगञ्ज भन्सार कार्यालयमा खोलेपछि भन्सार कार्यालयद्वारा न्यूट्रिकाका सञ्चालकलाई बाटो म्याद बाहेक १५ दिन भित्र उपस्थित हुन पत्र काटेको थियो । प्रहरीले उल्लेखित स्थानमा खोजतलाश गर्दा कम्पनीको अत्तोपत्तो भेटिएन । लेखिएको स्थानमा कम्पनी नभेट्नु र कम्पनीको नाममा आउने मालसामान चोर बाटोबाट भन्सार छलेर आईरहेको भेटिनुले कम्पनीको कारोबार संदिग्ध देखिन्छ । हाल यसबारे वीरगञ्ज भन्सार कार्यालयद्वारा अनुसन्धान भईरहेको छ ।
    भारतीय कम्पनी अगस्तोबाट न्यूट्रीका फूड कन्सर्नले फूड सप्लीमेन्ट लगायत औषधीको आयात कारोबार गरिरहेको देखिएको छ । शनिदेव कुमार द्विवेदीको नाममा दर्ता उक्त कम्पनीका सञ्चालकहरु बिच मालसामान पक्राउ परेपछि तनाव रहेको विश्वस्त श्रोतले जनाएको छ । आफ्नो माल पक्राउ परेको दिनदेखि कम्पनी सञ्चालक द्विवेदी वीरगञ्जबाट नदारद छन् । आफ्ना विश्वस्तहरुबाट यस विषयमा भईरहेको अनुसन्धानका बारेमा भने उनि जानकारी लिईरहेको श्रोतले बतायो । उनले राधेमाईबाट अन्यत्र आफ्नो ठेगाना बदलिसकेको समेत श्रोतको दावी छ ।
    मालसामान पक्राउ परेपछि अटो चालकको बयानका आधारमा भरिया पक्राउ पर्नु र भरिया समेतले आफ्नो बयानमा अनिल महतो भन्ने व्यक्तिको नाम लिनुले यो घट्नामा संलग्नहरुको जमात नै रहेको अनुमान गर्न सकिन्छ । हाल प्रहरीको नजरबाट लुकेर भागिरहेका अनिल महतोले पक्राउ परेका व्यक्तिहरुलाई छुट्टाउन कम्पनी सञ्चालकहरु उदासिन देखेर आफू पक्राउ परे पुरै गिरोहको पर्दाफास् गर्ने भन्दै हिंडेको जानकारी प्राप्त हुन आएको छ ।
    यता ४० दिनदेखी पक्राउ परेर पूर्पक्षका लागि जेल काटिरहेका अटो चालक अमृत साह कानूको धरौटी रकम खुली सकेको र निजको बयानका आधारमा पक्राउ परेका मंजु पटेलले घटनामा आफू लगायतको संलग्नता स्वीकार गरिसकोको अवस्थामा समेत धरौटी रकम बुझेर तारेखमा छाडी अनुसन्धान गर्नेुपर्ने सामान्य प्रकृयामा भन्सार कार्यालय वीरगञ्ज उदासिन देखिएको छ । पक्राउ परेका मंजु पटेलको बुधवारै बयान सकिएको दुई दिन वितिसक्दा समेत हिजो शुक्रवार सम्म यस विषयमा आदेश नभईसकेको अवस्था छ ।
    न्यूट्रिकाका सञ्चालकहरु समेतले पक्राउ परेका व्यक्तिहरुले नै धरौटी बापतको रु.१० लाख ५५ हजार बुझाउनुपर्ने अडान लिएको बुझिएको छ । 
    आफ्नो पेट पाल्न दैनिक ज्यालादारी गर्ने वर्गलाई अगाडी राखेर ठूला व्यापारीहरुले भन्सारको रकम छल्ने, लाखौं करोडौं कमाउने तर, भरिया लगायत अन्य कामदार पक्राउ परेपछि भाग्ने परिपाटीले यस्ता घटनाहरुमा भरिया मात्र फस्ने र व्यापारी उम्कने गरेका छन् । अनुसन्धानकर्ता सम्बन्धित निकाय समेतले घट्नाबारे सुक्ष्म अनुसन्धानको नाममा मुख्य आरोपीलाई उम्कने मार्ग प्रसस्त गरिदिएको यस घटनामा कम्पनी अथवा सम्बन्धित पक्षले धरौटी बापतको रकम नबुझाएको खण्डमा कानून बमोजिम तारेखमा रिहा हुनुपर्ने व्यक्ति हिरासतमै रहनुले न्याय सम्पादनमा हैसियत हुनेहरुको प्रत्यक्ष्ँ दखल रहेको प्रष्ट हुन्छ ?

प्रतिक्रिया दिनुहोस्