पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

सम्वादाता | २०८२ जेठ २२ गते ०३: ५० मा प्रकाशित

बिरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा आजदेखि सुरु भएको "ट्राफिक सप्ताह २०८२" को अवसरमा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सात दिनसम्म सञ्चालन हुने यस कार्यक्रमको सुरुवात बिरगंजको घन्टाघर चोकबाट प्रभातफेरीमार्फत गरिएको थियो। कार्यक्रमको नेतृत्व जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक लोकराज भट्टले गर्नुभएको थियो।

प्रभातफेरी घन्टाघरबाट सुरु भई माईस्थान, आदर्शनगर हुँदै बिरगंजका मुख्य मुख्य चौक परिक्रमा गर्दै पुनः घन्टाघरमै समापन भएको थियो। सहभागीहरूले ट्राफिक सचेतनामूलक पम्पलेट समेत वितरण गरेका थिए।

यस अभियानमा बिरगंजका विभिन्न सामुदायिक प्रहरी समूह, तिनका पदाधिकारीहरू, स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका किशोर लम्साल, नगर प्रहरी प्रमुख हरि भुसाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख निरोज चौलागाईं, शस्त्र प्रहरीका एस.पी. राधेश्याम धिमाल, जिल्ला प्रहरी प्रमुख एस.पी. गौतम मिश्रा, जिल्ला प्रशासन कार्यालयका प्रमुख गणेश अर्याल, समाजसेवी जयप्रकाश खेतान, कमल चौगाईंलगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको थियो।

प्रहरी निरीक्षक लोकराज भट्टका अनुसार ट्राफिक सप्ताह भरि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिनेछ, जसको उद्देश्य सडक सुरक्षा र ट्राफिक नियम पालनामा आम जनसमुदायको सहभागिता अभिवृद्धि गर्नु हो।

प्रतिक्रिया दिनुहोस्