मानवसेवा आश्रम वीरगंजको ८ औं वार्षिकोत्सव

२९२ जना उद्धार र १२५ को पारिवारिक पुनर्मिलन

सम्वादाता | २०८२ जेठ १४ गते ०१: ०० मा प्रकाशित

वीरगंज । सामाजिक सेवा र मानवताका लागि समर्पित मानवसेवा आश्रम वीरगंज आज आफ्नो ८ औं वार्षिकोत्सव मनाइरहेको छ । २०७४ सालको यही दिन, नारायणी अस्पतालबाट शंकर नाम गरेका दाइको उद्धारसँगै यो संस्थाको वीरगंज शाखाको विधिवत् शुभारम्भ भएको थियो ।
    शुभारम्भ समारोहमा संस्थापक देवेश गुप्ता, तत्कालीन प्रमुख जिल्ला अधिकारी केशव प्रसाद घिमिरे, डा. दीपक शाक्य, मिनाक्षी गुप्ता, रहबर अन्सारी, उषा शाह, कनिका कौसिक, मायामितु न्यौपाने, मुकेश खेतान, कमल चौगाई, युवराज केसरी, आशिष श्रेष्ठ, रिशव अग्रवाल, संगीता शाक्य र अंशु कार्की लगायत सामाजिक व्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो ।
    आरम्भका पाँच वर्ष वीरगंज–०९ स्थित घर भाडामा लिएर सञ्चालनमा आएको आश्रम हाल प्रदेश सांसद रमेश पटेलको पहलमा वीरगंज–२५, सिरिसियामा अवस्थित वृद्धाश्रम भवनमा सुन्दर ढंगले सञ्चालन भइरहेको छ । साथै, वीरगंज महानगरपालिकाले उपलब्ध गराएको वीरगंज–१५ लक्ष्मणवास्थित १४ कठ्ठा जमिनमा करिब २० करोड लागतमा आधुनिक भवन निर्माण कार्य पनि तीव्र गतिमा अघि बढिरहेको छ ।
    स्थापना कालदेखि अहिलेसम्म आश्रमले २९२ जनाको उद्धार गरेको छ। तिनमध्ये १२५ जनाको सफल पारिवारिक पुनर्मिलन, ८४ जनाको सामुदायिक पुनस्र्थापना तथा ३६ जनाको आश्रममै निधन भएको तथ्याङ्क आश्रमले सार्वजनिक गरेको छ ।  हाल सिरिसिया आश्रममा ४७ जना महिला, पुरुष र बालबालिका आश्रित छन् ।
    मानवसेवा आश्रम सम्पूर्ण रूपमा गैरनाफामूलक र परोपकारी संस्था हो, जसले २०६९ सालदेखि मानवसेवामा समर्पित रहँदै २०७३ साल साउन २ गते काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा विधिवत् दर्ता भएको थियो । आश्रमले नेपालको सातै प्रदेशका २१ जिल्लामा २७ वटा सेवा केन्द्रहरू सञ्चालन गरी देशभरका घरवारविहीन, अशक्त र बेसहारा व्यक्तिहरूलाई उद्धार, उपचार, संरक्षण र पुनर्मिलन गर्दै आइरहेको छ ।
    संस्थापक देवेश गुप्ताका अनुसार, “हामीकहाँ धेरैले सोध्नुहुन्छ आश्रम कसरी चल्छ ? डोनर को हो ? अनि हामी गर्वका साथ भन्ने गर्छौं— यो आश्रम सामान्य मजदुरदेखि उद्योगपति सम्म सबै वीरगंजवासीको माया, पसिना र सहयोगले चलेको हो । आठ वर्षको यो यात्रामा हामीलाई साथ दिने सम्पूर्ण वीरगंजवासीप्रति विशेष आभार प्रकट गर्दछौं ।”
    मानवसेवा आश्रमको आठ वर्षे सेवा यात्राले देखाएको सामाजिक उत्तरदायित्व र मानवीय संवेदनशीलताको उदाहरण अब वीरगंज मात्र नभई सम्पूर्ण देशका लागि प्रेरणादायी बन्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्