प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्ने अवस्था आए मानव अधिकारको सम्मान गर्न एआईजीको निर्देशन

सम्वादाता | २०८२ जेठ १४ गते १२: ४२ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले काठमाडौ उपत्यकामा हुने कुनै पनि विरोध प्रदर्शनको कार्यक्रममा भिड नियन्त्रणमा अग्रपङ्क्तिमा खटिने प्रहरी कर्मचारीहरूलाई बल प्रयोग गर्दा मानव अधिकारको ख्याल गर्न निर्देशन दिएका छन् ।

बुधबार काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा मातहतका कार्यालय प्रमुखहरु र अन्य प्रहरी कर्मचारीहरूलाई तामाङले सामुहिक भावनाका साथ ऐक्यवद्ध भई उच्च मनोबलका साथ पूर्ण व्यवसायिक तवरले कार्य गर्न निर्देशन दिएका हुन् ।

उनले बल प्रयोग गर्नुपर्ने अवस्थामा अबलम्बन गर्नु पर्ने बल प्रयोगको सिद्धान्त र मानव अधिकारको सम्मान गर्न अधिकृतहरुलाई निर्देशन दिए । कार्यक्रममा नेपालका प्रहरी वरिष्ठ उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

बिहीबार काठमाडौंमा राजावादीहरुले अवज्ञा आन्दोलन गर्दैछन् । चैत १५ मा काठमाडौंको तीनकुनेमा प्रहरीले अमानवीय तवरले बल प्रयोग गरेको भन्दै सर्वत्र आलोचना भएपछि प्रहरीले भोलि हुने कार्यक्रमलाई लक्षित गरी यस्तो निर्देशन दिएको हो । साभार ः हातमा खबर

प्रतिक्रिया दिनुहोस्