छाडा तार हटाउन वडाको सक्रियता, स्थानीयले गरे स्वागत

सम्वादाता | २०८२ जेठ १३ गते ०२: ४३ मा प्रकाशित

बिरगंज । बिरगंज महानगरपालिका वडा नम्बर ५ का सडक किनारमा अव्यवस्थित रूपले झुण्डिरहेका इन्टरनेट, केबुल, र टेलिफोनका तारहरू हटाउने कार्य तीव्र रूपमा सुरु गरिएको छ । वडाध्यक्ष प्रदीप चौरसियाको नेतृत्वमा गरिएको यस अभियानले स्थानीय क्षेत्रमा सुरक्षासम्बन्धी चुनौतीहरू न्यूनीकरण गर्न सहयोग पु¥याउने अपेक्षा छ ।
    वडाध्यक्ष चौरसियाका अनुसार, “विगत केही समयदेखि टोलमा छाडा रूपमा झुन्डिएको तारहरूले आगलागीको जोखिम मात्र होइन, सर्वसाधारणको आवागमनमा समेत अवरोध उत्पन्न गरिरहेको छ । केही स्थानमा त बालबालिका र वृद्धवृद्धाहरू लड्ने र घाइते हुने अवस्था समेत रहेको छ । यस्तै समस्यालाई समाधान गर्न वडाले यो कार्य थालनी गरेका हौं ।”
    यस अभियानको सुरुवात वडा नम्बर ५ स्थित विभिन्न गल्ली तथा टोलहरूबाट गरिएको छ । तार हटाउने कार्यमा वडासचिव अरुण बस्नेतको पनि सक्रिय सहभागिता देखिएको छ । अभियानमा प्राविधिक सहयोग लिने प्रक्रिया पनि अघि बढाइएको छ, जसले सुरक्षित र दीर्घकालीन समाधान सुनिश्चित गर्नेछ ।
    स्थानीय बासिन्दाहरूले यो पहललाई खुलेर स्वागत गरेका छन् । उनीहरूका अनुसार, अव्यवस्थित तारका कारण टोलको अनुहारनै विग्रिएको थियो । अब भने टोल सफा, सुरक्षित र सौन्दर्ययुक्त बन्दै गएको देखिएको छ ।
    वडाध्यक्ष चौरसियाले यस्ता कार्यहरू निरन्तर भइरहने जानकारी पनि दिएका छन् । “हामी टोललाई व्यवस्थित र आधुनिक बनाउने दिशामा अघि बढिरहेका छौं ।” “नागरिकको सहयोग र सुझाव लिएर आगामी दिनमा थप विकासे योजना पनि लागू गरिनेछ,” उनले थपे ।
    यो अभियानले केवल तार व्यवस्थापन मात्र नभई स्थानीय सरकारको सक्रियता र नागरिक सुरक्षाप्रतिको प्रतिबद्धता पनि देखाएको छ । वीरगञ्जको स्वरुप परिवर्तन गर्न यो पहल साकारात्मक देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्